
नेपालको राष्ट्रिय भविष्यका प्रति आस्थाले नै हामीलाई क्रान्तिको जोश पनि दिएको छ । अहिलेको नेपालको तस्बिर अँध्यारो र उज्यालोले बनेको छ । एकातिर ती सारा अन्धकारका तत्व हाम्रो जीवनमा देखा पर्न थालेका छन्, जसबाट नेपालको राष्ट्रिय अस्तित्वको स्थायीत्वमा नै ठूलो सङ्का हुनथाल्छ । राष्ट्रिय एकताको भावनाको अभाव, विदेशी पक्षीय राजनीतिको सक्रियताm नैतिकताको ह्रास, अन्योल र दिशाभ्रम भएको स्थिति, राष्ट्रिय आर्दशको अभावमा व्यक्तिवादी, र स्वार्थपरताको बोलवाला, यस्तो अन्धकारको पक्ष बढ्दै गयो भने हाम्रो अस्तित्व लोप भएर जान्छ ।
यस्तो तस्बिरको विपरीत उज्यालोको तस्बिर पनि छ । नेपालको बारेमा सोच्ने, जनताको अधिकारका बारेमा सोच्ने राष्ट्रिय आर्दशलाई स्थापना गर्न खोज्ने, विदेशी राजनीतिलाई नअँगाल्ने र आफ्नो राष्ट्रिय र प्रजातान्त्रिक उद्धेश्यका खातिर जस्तोसुकै ठूलो त्याग र तपस्या गर्न तत्पर हुने क्राान्तिकारीहरुको समाज नेपालमा कसको विजय हुने हो–अन्धकार तत्वको, ह्रास र पतनको तत्वको, कि उज्यालो तत्वको उत्थान र प्रगतिको तत्वको । तत्वहरुका बीच दौड छ । समयमा क्रान्ति हुनसक्यो भने नेपाल रह्यो नत्र रहदैन । नेपालको अस्तित्वका उपर जुन आन्तरिक र बाह्रय चोट परिरहेछ, त्यसलाई नेपालले क्रान्तिले प्रदान गर्न राष्ट्रिय शक्तिविना धेरै बेहोरिरहन सक्तैन । क्रान्ति त्यस्तो ऐतिहासिक शक्ति हो जसले विमूढ स्थितिमा जनतालाई अकस्मात् किसिमले व्युझाउँछ र तिनमा अचितन्य स्पूर्ति र प्ररणा दिन्छ । इतिहासले छोडेको समाजले क्रान्ति गर्न सक्तैन । अब हेर्नुछ–क्रान्तिवादीको आस्था इतिहासको प्रेरणा हो वा अव्यवहारिक भावनातत्मक धारणा हो जसका पछाडि कुनै ऐतिहासिक शक्ति छैन ।
नेपालमा यदि राजाका विरुद्ध जनताले आफ्नो अधिकारका लागि क्रान्ति गर्दैन भने के त्यो जनता विदेशी शत्रुका विरुद्ध या कुनै क्षयकारी आन्तरिक शत्रुका विरुद्ध उठ्छ भनेर हामीले सोच्नुहुन्छ ? इतिहासमा धेरै राज्य बने, कोही अडे र कोही त्यसै सिद्धिएर गए । अडेर प्रगति गर्ने राज्यहरुको रहस्य के हो ? रहस्य हो ती राज्यका जनताहरुको क्रान्ति गर्ने र आफ्नो अधिकारका लागि निर्णायक संङ्घर्ष गर्ने कटिबद्धता । इङ्लैण्डको गृहयुद्ध र विभिन्न मञ्जिलमा सम्पादित क्रान्तिहरुलाई अध्ययन बिन्दु नबनाएर के हामी इङ्लैण्डको इतिहासको मर्मलाई बुझ्न सक्छौं, त्यहाँको जनताको शक्तिलाई चिन्न सक्छौं ? त्यस्तै फ्रान्सको राज्य–क्रान्तिविना फ्रान्सको इतिहासको कस्तो दिशा हुने थियो त्यो हामीले सजिलैसँग बुझ्न सक्छौं । त्यो राज्य–क्रान्तिविना फ्रान्सको इतिहासको आत्मा रहने थिएन । अमेरिकाको स्वतन्त्रता लडाईँ र त्यहाँको गृहयुद्ध त्यस देशको जनताको शक्तिका परिचायक हुन् । यी दुई ऐतिहासिक घटनाविना अमेरिकाको वर्तमान ओजस्विताको रहस्य बुझ्न सकिन्न । यसको राज्य क्रान्तिबाट वर्तमान रुसको स्थापना भएको हो– १९०४ को विफल क्रान्तिले पनि त्यस देशका जनताको शक्तिको प्रतिनिधित्व गथ्र्यो । चीनको गृहयुद्ध र क्रान्तिको महत्वका उपर यहाँ लेखिरहनु पर्ने आवस्यकता छैन । साना–ठूला राष्ट्रहरुलाई अगाडि बढ्नु छ–सबैले सङ्घर्ष गरेका छन् । क्रान्तिलाई अङ्गालेका छन् । इतिहासबाट क्रान्तिको उर्जालाई झिकिदिए त्यसमा बाँकी नै के रहन्छ ? नेपालले यदि जीवीत रहनु छ भने क्रान्ति गर्न पछि सर्नुहुँदैन ।
प्रश्न छ–जनताले क्रान्ति गर्छ कि गर्दैन ? गर्छ भने देश रह्यो, हाम्रो राष्ट्र रह्यो, हामी नेपाली इतिहासमा रह्यौं । देश रह्यो भने अहिले तरुणले जुन त्याग र बलिदान गरिरहेका छन् त्यो सार्थक हो भन्नुपर्छ । तरुणहरुको प्रतिवद्धता क्रान्तिका प्रति छ, किनभने उनको प्रतिबद्धता देशप्रति छ । उनको भनाई छ–देश रह्यो हामी सबै रह्यौं । अहिले बलिदान हुने तरुणहरु पनि इतिहासको पानामा जाज्वल्य भएर रहन्छन् । यदि देश रहेन भने हामी कोही रहदैनौं । मरेका त मरेकै भए जीवित नेपाली मरेको सरह हुन्छौं ।
विपी स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका चार दशक’ नामक पुस्तकबाट लिइएको