१.अवधारणा
नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र अपार सम्भावनाले भरिपूर्ण भएर पनि देश आर्थिक रूपमा पछाडि पर्नु र नागरिकको जीवनस्तर तात्वीक रुपमा रुपान्तरण नहुनु हो । नेपालको अर्थतन्त्रको मुख्य विरोधाभास भनेको प्रचुर प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि गरिब र परनिर्भर रहनु हो । यसको मुख्य अर्थतन्त्र विदेशबाट आउने रेमिट्यान्समा निर्भर छ, जसमा देशको उत्पादन, रोजगारी वा उद्योगभन्दा पनि लाखौं युवाहरूको विदेश पलायनले मुलुकको उपभोग र अर्थतन्त्र धानिरहेको छ । नेपाल विश्वमै जलस्रोतको दोस्रो ठूलो धनी देश हो, तर पर्याप्त पूर्वाधार र व्यवस्थापकीय कमजोरीका कारण हामी अझै पनि हिउँदमा बिजुली आयात गर्न र महँगो उर्जामा निर्भर रहन बाध्य छौं । ६०% भन्दा बढी जनसंख्या कृषिमा निर्भर छ । तर, आधुनिक प्रविधि, सिँचाइ र मलको अभाव तथा जमिन बाँझिने क्रम बढेका कारण वार्षिक अर्बौं रुपैयाँको चामल र तरकारी आयात गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्सले नेपालको बाह्य अर्थतन्त्रलाई बलियो बनाएको छ । विडम्बना के छ भने, उक्त रेमिट्यान्सको ठूलो हिस्सा उपभोग (खानपिन र विलासिता) मै खर्च हुन्छ, जसले देशभित्र उत्पादन वा रोजगारी बढाउन सकेकोछैन । देशमा युवाहरूको संख्या अत्यधिक छ । उनीहरू रोजगारी र शिक्षाका लागि दैनिक हजारौंको संख्यामा खाडी मुलुक, युरोप, र अष्ट्रेलिया पलायन भइरहेका छन् भने अर्कोतर्फ नेपालका कृषि र निर्माण क्षेत्रमा काम गर्ने जनशक्ति नपाएर बाहिरी मुलुकबाट कामदार ल्याउनुपर्ने अवस्था छ । विश्वका सर्वोच्च हिँचुली (सगरमाथा लगायतका ८ हजार मिटर भन्दा बढी अग्ला १४ वटा शिखरहरू) र पवित्र धार्मिक स्थलहरू हुँदा पनि नेपालले पर्यटन क्षेत्रबाट लामो समयसम्म प्रति पर्यटक न्यून आम्दानी गरिरहेको छ । समग्रमा, नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो विरोधाभास भनेको यहाँको नीतिगत अकर्मण्यता र रेमिट्यान्सको सजिलो कमाइले वास्तविक आर्थिक रूपान्तरण र औद्योगिक क्रान्तिको मार्गलाई रोकिदिएको छ ।
२. आर्थिक विरोधाभाषको सिद्धान्त
अर्थशास्त्रमा विरोधाभाष भन्नाले सैद्धान्तिक मान्यता वा सम्भावना र वास्तविक परिणामबीच विरोधाभास आउनुलाई बुझिन्छ । यस सिद्धान्तअनुसार, कुनै देश प्राकृतिक, भौगोलिक वा मानवीय स्रोतमा धनी हुँदाहुँदै पनि नीतिगत कमजोरी, संस्थागत भ्रष्टाचार र गलत व्यवस्थापनका कारण गरिबीको दुष्चक्रमा फस्छ । नेपालको सन्दर्भमा, “स्रोत हुँदाहुँदै गरिबी”हुनु यसको प्रमुख सैद्धान्तिक दृष्टान्त हो । नेपालको अर्थतन्त्रमा आर्थिक विरोधाभासले यस्तो अवस्थालाई बुझाउँछ जहाँ देश आफैँमा धेरै सम्भावनाहरू बोकेको भए तापनि आर्थिक रूपमा पछाडि परेको छ।
यसका मुख्य विशेषताहरू र विरोधाभासपूर्ण पक्षहरू यस प्रकार छन्ः
उत्पादन र आयातको विरोधाभासः नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर, यहाँ कृषि उत्पादन घट्दै गएको छ र हामी चामल, तरकारी जस्ता आधारभूत खाद्यवस्तुहरूका लागि पनि विदेश (विशेषगरी भारत) मा निर्भर छौँ ।
श्रमको निर्यात र वस्तुको आयातः नेपालको अर्थतन्त्र मुख्यतया विप्रेषणमा निर्भर छ। यहाँ लाखौँ युवाहरू रोजगारीका लागि खाडी मुलुक तथा अन्य देशमा जान्छन्, र उनीहरूले पठाएको पैसाले उपभोग्य वस्तुहरू किनेर जीवन चलाइन्छ। अर्थात्, देशले आफ्नो जनशक्ति निर्यात गर्छ र उही कमाइले महँगा आयातित वस्तुहरू उपभोग गर्छ ।
स्रोत र साधनको अभावः नेपाल जलस्रोतमा विश्वमै दोस्रो धनी देश मानिन्छ र यहाँ पर्यटनका लागि अनुपम सम्भावना छन् । यति हुँदा पनि देशमा ऊर्जा सङ्कट र औद्योगीकरणको कमी छ, जसले गर्दा जनताले ती स्रोतको फाइदा लिन पाइरहेका छैनन् ।
राजनीतिक परिवर्तन र आर्थिक वृद्धिः देशमा राजनीतिक परिवर्तनहरू जस्तैः गणतन्त्र स्थापना भयो, तर आम नागरिकको जीवनस्तरमा आर्थिक वृद्धि र रोजगारीको अवसरले सोचेजस्तो सुधार ल्याउन सकेको छैन । यस सिद्धान्तले नेपालको अर्थतन्त्रको संरचना कतिसम्म उल्टो दिशामा चलिरहेको छ भन्ने स्पष्ट पार्छ । यसले हाम्रो अथाह प्राकृतिक सम्भावना र कमजोर आर्थिक व्यवस्थापन बीचको गहिरो खाडललाई उजागर गर्छ ।
३. ऐतिहासिक पृष्ठभूमि
नियोजित विकास र कृषिमा असफलता रहदै आएको छ । सन् १९५६ मा योजनाबद्ध विकासको सुरुवात भए पनि कृषि उत्पादन बढाउने र विविधीकरण गर्ने सरकारी लक्ष्य अधुरै रह्यो ।सन् १९९० को दशकमा उदारीकरण अपनाइयो, जसले निर्यात बढाउनुको साटो उल्टै आयात र परनिर्भरता ह्वात्तै बढायो ।२०४६ सालको राजनीतिक परिवर्तन, दशक लामो सशस्त्र द्वन्द्व, २०७२ को भूकम्प र कोभिड–१९ जस्ता महामारीले नेपालको आर्थिक प्रगतिको बाटोलाई पटक–पटक पछाडि धकेलेको छ । राजनीतिक व्यवस्थमा परिर्वतन आए पनि राजनीतिक नेतृत्वमा सामन्तवादी, स्वार्थी र पारिवारीक भरण पोषण र आसेपासे अर्थतन्त्रको विकास गर्नमा नै मलजल पु¥याए । कसैले पनि स्वाधिन अर्थतन्त्रको विकास गर्न संरचनात्मक परिवर्तन गर्न खासै महत्वपूर्ण ध्यान पु¥याउन सकेनन् । त्यसैले ऐतिहासिक रुपमा नेपाल आर्थिक रुपमा पछि परी नै रह्यो ।
४. आर्थिक विरोधाभाषका मूल कारणहरू
विप्रेषणमा अत्यधिक निर्भरताः विप्रेषण देशको अर्थतन्त्रको मुख्य आधार बनेको छ, जसले स्वदेशी उत्पादन, रोजगारी र उद्यमशीलताको विकासमा निरुत्साहित गरेको छ ।
नीतिगत अस्थिरता र सुशासनको अभावः राजनीतिक परिवर्तनसँगै आर्थिक नीति फेरिने, कर्मचारीतन्त्रमा ढिलासुस्ती र भ्रष्टाचारले गर्दा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन सकेको छैन ।
उत्पादनमुखी अर्थतन्त्रको कमीः कूल गार्हस्थ्य उत्पादनमा उद्योग र उत्पादन क्षेत्रको योगदान घट्दै जानु र रेमिट्यान्सले उपभोग संस्कृति बढाउनु मुख्य समस्या हो ।
भौगोलिक कठिनाइ र भूपरिवेष्ठित अवस्थाः ८३ प्रतिशत भू–भाग पहाडी र हिमाली हुनुका साथै भूपरिवेष्ठित हुनुले पूर्वाधार निर्माणको लागत बढाएको छ र अन्तर्राष्ट्रिय व्यापारमा कठिनाइ ल्याएको छ । तर देशको भौगोलिक अवस्थालाई दोष दिएर उम्कन मिल्दैन ।
५.विडम्बनाका स्रोतहरू
कृषिमा परम्परागत प्रणालीः अझै पनि ठूलो जनसंख्या कृषिमा आश्रित छ, तर मल, बीउ, सिँचाइको अभाव र जग्गाको खण्डीकरणले गर्दा उत्पादन न्यून छ ।
दक्ष जनशक्ति पलायनः रोजगारी, गुणस्तरीय शिक्षा र अवसरको खोजीमा वार्षिक लाखौं युवा विदेशिने क्रमले देशको उत्पादकत्वमा गम्भीर असर परेको छ ।
वित्तीय प्रणाली र अनुत्पादक क्षेत्रमा लगानीः बैंकहरूमा पर्याप्त तरलता (पैसा) हुँदा पनि निजी क्षेत्रको आत्मविश्वास घट्नु र अनुत्पादक क्षेत्र (जस्तै जग्गा) मा लगानी बढ्नु यसका मुख्य स्रोत हुन् ।
६.विडम्बनालाई चिर्ने रणनीतिहरू
कृषिको आधुनिकीकरण र व्यवसायीकरणः कृषि क्षेत्रमा अनुदान प्रणालीलाई पारदर्शी बनाई आधुनिक प्रविधि भित्र्याउने, जसले खाद्यान्नमा आत्मनिर्भर बनाउँछ ।
जलस्रोत र पर्यटनको अधिकतम उपयोगः उत्पादित विद्युत्को देशभित्रै खपत बढाउने र आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने ।
युवामैत्री वातावरण र स्टार्टअप प्रवद्र्धनः स्वदेशमै उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जा, प्राविधिक सहयोग र बजार पहुँच पु¥याई ब्रेन ड्रेन रोक्ने ।
सुशासन र लगानीको सुरक्षाः भ्रष्टाचार नियन्त्रण, पुँजीगत खर्च बढाउने र लगानीमैत्री नीतिहरू कार्यान्वयन गर्ने ।
७. विद्यमान चुनौतीहरू
नेपालको अर्थतन्त्रमा एउटा ठूलो विरोधाभास छः देशसँग अथाह प्राकृतिक स्रोत र सम्भावनाहरू छन्, तर लाखौं युवाहरू रोजगार खोज्न खाडी मुलुक, मलेसिया र अन्य देशमा पलायन भइरहेका छन् । अर्थतन्त्रका प्रमुख चुनौती र यसका विद्यमान विरोधाभासहरूलाई बुँदागत रूपमा यसरी बुझ्न सकिन्छः
७.१ विप्रेषणको विरोधाभास
बाह्य अर्थतन्त्र र रेमिट्यान्स निकै बलियो छ, जसले गर्दा विदेशी मुद्राको सञ्चिति उच्च छ। तर, यसको कारण देशको आन्तरिक उत्पादन भने ठप्प जस्तै छ। नेपालले सामानको सट्टा आफ्नो श्रम (युवा जनशक्ति) निर्यात गरिरहेको छ। यसले गर्दा देशमा उपभोग बढ्छ तर उत्पादकत्व घट्छ, जसले दिगो समृद्धि ल्याउन सक्दैन ।
७.२ उत्पादन र आयातको विरोधाभास
नेपाल कृषिप्रधान देश हो, तर यहाँका अधिकांश खाद्यान्न र आधारभूत उपभोग्य वस्तुहरू आयात हुन्छन् । व्यापार घाटा विकराल छ।कृषिमा आधुनिकीकरण नहुनु र उत्पादनमूलक उद्योगहरूको विकास नहुनु नै यसको मुख्य जड हो ।
७.३ तरलता र लगानीको विरोधाभास
बैंकहरूमा लगानीयोग्य रकम अर्बौं रुपैयाँ थुप्रिएको छ। तर, वास्तविक अर्थतन्त्र वा उद्योगधन्दामा कर्जाको माग छैन र निजी क्षेत्रको मनोबल कमजोर छ। लगानीको वातावरण नबन्नु, नीतिगत अस्थिरता, र बजारमा मागको कमी हुनु यसका मुख्य कारण हुन्।
७.४आर्थिक वृद्धि र गरिबीको विरोधाभास
विश्व बैंकका अनुसार नेपालले गरिबी निवारणमा उल्लेखनीय प्रगति गरेको छ, तर समग्र आर्थिक वृद्धिदर भने निकै सुस्त छ। अर्थतन्त्रको संरचना यस्तो छ कि आयको असमानता बढ्दो छ र सामान्य नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन ।
७.५ प्राकृतिक स्रोत र उपयोगको विरोधाभास
नेपालसँग जलविद्युत उत्पादन गर्ने प्रचुर सम्भावना छ, हिमाल र पर्यटकीय स्थलहरू छन् । तर, अझै पनि महँगो ऊर्जा आयात गर्नुपर्ने अवस्था छ। यी स्रोतहरूको सही उपयोग गर्न पूर्वाधार निर्माणमा सुस्तता, भ्रष्टाचार र कमजोर शासन व्यवस्था बाधक बनेका छन् । कमजोर पुँजीगत खर्चका कारण पूर्वाधार निर्माणमा ढिलाइ हुने गरेको छ ।आयातमुखी व्यापार र उच्च व्यापार घाटाको निरन्तरताले देशको अर्थतन्त्र उभो लाग्न सकेको छैन ।निजी क्षेत्रमा घट्दो लगानीको आत्मविश्वासले अर्थतन्त्र सकारात्मक दिसातर्फ अघि बढ्न सकेको देखिदैन ।
८. सिकेका पाठहरू
नेपाली अर्थतन्त्रको विरोधाभाष भनेको कृषिप्रधान देश भएर पनि तीन खर्व भन्दा बढीको खाद्यान्न आयात हुनु, अथाह प्राकृतिक स्रोत (जलविद्युत, पर्यटन) हुँदा पनि गरिबी रहनु र युवा जनशक्ति विदेश पलायन भएर रेमिट्यान्समा निर्भर हुनु हो । यसबाट मुलुकले आत्मनिर्भरता, नीतिगत स्थिरता र उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्नुपर्ने गहिरो पाठ सिकेको छ। नेपालको अर्थतन्त्रको विरोधाभास र यसबाट प्राप्त विस्तृत पाठलाई निम्न बुँदामा स्पष्ट पार्न सकिन्छः
८.१ कृषिप्रधान देशमा खाद्यान्न परनिर्भरता
कृषि अर्थतन्त्रको मेरुदण्ड मानिए पनि चामल, तरकारीदेखि फलफूलसम्म अर्बौंको आयात हुन्छ।खाद्यान्नमा आत्मनिर्भर नभएसम्म दिगो आर्थिक स्थायित्व सम्भव छैन। आधुनिक प्रविधि, समयमै मल–बीउको उपलब्धता र सिँचाइको व्यवस्था गरी कृषि क्षेत्रको व्यवसायीकरण गर्नुपर्ने पाठ सिकिएको छ।
८.२ विप्रेषण माथिको अत्यधिक निर्भरता
कुल गार्हस्थ्य उत्पादन र विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको हिस्सा उच्च छ, तर यसले नेपाली समाजलाई उपभोगमुखी मात्र बनाएको छ । रेमिट्यान्सको भरमा मात्र अर्थतन्त्र चल्न सक्दैन । यसलाई उपभोगमा खर्च गर्नुको सट्टा जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।
८.३ युवा जनशक्ति पलायन
देशमा लाखौं युवा रोजगारीको अभावमा खाडी मुलुक र अध्ययनको नाममा पश्चिमा देशहरूमा पलायन भइरहेका छन् । युवा जनशक्तिलाई रोक्न देशमै रोजगारीका अवसर, गुणस्तरीय शिक्षा र लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ ।
८.४ राजनीतिक अस्थिरता र नीतिगत परिवर्तन
हरेक सरकार फेरिँदा आर्थिक नीति र योजनाहरू परिवर्तन हुन्छन्, जसले गर्दा पुँजीगत खर्च लक्ष्यअनुसार हुन सक्दैन। आर्थिक विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय आर्थिक नीति तर्जुमा गर्नुपर्छ । राजनीतिक स्थिरता, भ्रष्टाचारमा शुन्य सहनशीलता र सुशासनबिना आर्थिक समृद्धि हासिल हुन सक्दैन।
८.५ उच्च व्यापार घाटा र औद्योगिक सुस्तता
निर्यातभन्दा आयात अत्यधिक हुँदा व्यापार घाटा चुलिँदो छ। देशभित्र उद्योगधन्दा फस्टाउन सकेका छैनन् । मुलुकको अर्थतन्त्रलाई आयातमुखीबाट निर्यातमुखी बनाउनुपर्छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, साना तथा मझौला उद्योगलाई प्रोत्साहन र विदेशी लगानी भित्र्याउने वातावरण बनाउनु जरुरी छ ।
८.६ सम्भावना र कार्यान्वयन बीचको खाडल
नेपाल जलस्रोत र पर्यटनका लागि विश्वकै धनी देशमा गनिन्छ, तर यी स्रोतहरूको सही सदुपयोग हुन सकेको छैन। प्राकृतिक सम्पदा भएर मात्र हुँदैन, तिनको उपयोग गर्नका लागि दक्ष जनशक्ति, सुदृढ पूर्वाधार र कार्यान्वयन गर्ने इच्छाशक्ति आवश्यक हुन्छ ।
९. निष्कर्ष
नेपाली अर्थतन्त्रको विडम्बना भनेको सम्भावना हुँदाहुँदै पनि पछाडि पर्नु विरोधाभासपूर्ण अवस्था हो । यसलाई तोड्न अब उपभोगमुखी र आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानु जरुरी छ । राजनीतिक इच्छाशक्ति, सुशासन, र युवा जनशक्तिलाई स्वदेशमै रोक्ने ठोस कार्यक्रमहरू लागू गरेमात्रै नेपाल यो आर्थिक विडम्बनाबाट माथि उठ्न सक्नेछ । नेपालको अर्थतन्त्रको विरोधाभासले के सिकाउँछ भने अब नेपालले रेमिट्यान्स र वैदेशिक सहायताको भरमा बाँच्ने प्रवृत्ति त्याग्नुपर्छ । यसका लागि कृषि, पर्यटन, र जलविद्युतको अधिकतम उपयोग गर्ने, सुशासन कायम गर्ने र देशमै श्रम र पुँजीको सम्मान गर्ने नीति लागू गर्नु नै यसको दिगो समाधान हो । केवल रेमिट्यान्सको भरमा दिगो आर्थिक विकास सम्भव हुने देखिदैन । आर्थिक वृद्धि हासिल गर्न राजनीतिक स्थायित्व मात्र नभई नीतिगत स्थिरता,सुशासन र प्रभावकारी कार्यन्वयन क्षमता अपरिहार्य छ । प्राकृतिक स्रोतको उपलब्धता आफैँमा पर्याप्त छैन, त्यसलाई उपयोग गर्ने सुशासनयुक्त संस्थागत संरचना चाहिन्छ । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश हो, तर यहाँका नागरिकले लोडसेडिङ र महँगो ऊर्जाको मार खेप्नुपरेको छ । कृषि प्रधान देश भएर पनि चामल, तरकारी र खाद्यवस्तु अर्बौंको आयात गरिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र सर्वोच्च शिखर सगरमाथा भएर पनि विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटन क्षेत्र पछाडि छ । नेपाली युवाहरू खाडी तथा अन्य मुलुकमा रगत–पसिना बगाएर रेमिट्यान्स पठाउँछन्, तर त्यो रकम अनुत्पादक क्षेत्र जस्तैः विलासिताका सामान र शिक्षाका लागि विदेशिनेमा खर्च हुन्छ । यी समस्याहरुको दिगो समाधान गर्दै स्वाधीन अर्थतन्त्रको विकासका लागि सरकारलाई अब ढिला गर्ने छुट छैन ।अस्तु ।
वि.सं.२०८३ जेठ १८ सोमवार ०८:३७ मा प्रकाशित






























