
‘साहुजी हिजो लगेको चनामा किरा लागेको रहेछ ।’
साहुजी–अर्काे दिउँ त !
लाग्यो, साहुँजीले राम्रो चना भित्र लुकाएर यो बेचेर सिध्याउन आटेका रहेछन्, कति बाठा हुन् ।
साहुँजीले भित्र स्टोरमा पुगेर चना लिएर आए ।
कहाँको चना हो साहुँजी ?
साहुँजी–अष्ट्रेलियाको हो
मन ढक्क फुल्यो, होइन, नेपाली मलिलो माटोमा जहाँ पनि फल्न सक्ने यो नाथे चना पनि हामीले अष्ट्रेलियाबाट ल्याउनु पर्ने रहेछ । ‘त्यसो भए अष्ट्रेलियाको चना खान पाइने भयो होइन त साहुँजी ?’ मैले हाँसो गरे ।
साहुँजी–तपाईले हिजो लगेको भारतको थियो, सानो दाना राम्रो थियो । अलि अलि किरा लागेको, खादा पनि मिठो हुन्थ्यो । यो त्यति राम्रो छैन ।
त्यहि पनि मनले मानेन, १ सय रुपैयाँ किलो त्यहि चना बोकेर मन अमिलो पार्दै अफिस आए । लाग्यो कति परनिर्भर भएछौं हामी । नेपाली रगत हो भनेर कसरी भन्ने ? त्यहि रगत बनाउनका लागि हामीले खाने खाद्यवस्तु सबै विदेशबाट आउँछ ।

नेपाललाई कृषि प्रधान देश, किसानहरुको देश भनिए पनि कृर्षिमा परनिर्भता बढ्दै गईरहेको छ ।
भारत, चीन, कोरिया, मलेसिया, जापान, इटाली, सिंगापुर, थाईल्याण्ड, बहराइन, अमेरिका लगायतका देशबाट धान चामल आयात भएको सरकारी तथ्यांकले देखाएको छ । देशमा बार्षिक झण्डै २ खर्बको कृषिजन्य वस्तु बाहिरी देशबाट आयात भएको पाइन्छ ।
त्यस्तै नेपालका भीर पाखा जहाँतही फल्ने मकै चीन, भारत, ब्राजिल, अर्जेन्टिनाबाट अरबौको आयात भएको पाइएको छ । त्यस्तै भारत, इटाली र चीनबाट गहुँ आयात भएको छ ।
नेपालमा रोजगारीको अभाव रहेको भन्दै उर्वर र खेतीयोग्य जग्गा बाँझो छोडेर युवा विदेशिने क्रम बढ्दा देशले अन्य क्षेत्रमा त वैदेशिक व्यापार घाटा बेर्होदै आएको । तर, ढुंगामा खसेको बीउ पनि उम्रिने हाम्रो जस्तो हावा पानी र माटो भएको देशमा दुई खर्बको हाराहारीमा विदेशबाट कृषिवस्तु आयात हुनु भनेको सम्पूर्ण नेपालीको लागि पीडादायी कुरा हो ।