१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भित्रको पछिल्लो शक्ति सन्तुलनमा नेता माधवकुमार नेपाल पछारिएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रम मिलाउने क्रममा यसअघि वरियातामा तेस्रो रहेका नेता नेपाल चौंथोमा पु¥याइएका छन् ।
आइतबारको बैठकले बरियता मिलाउने क्रममा तेस्रो नम्बरमा झलनाथ खनाललाई र माधव नेपाललाई चौंथो नम्बरमा रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए । यसअघि दुबै जनालाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि राखिएको थियो । नेकपाको विधानमा दुई बरिष्ठ नेताको व्यवस्था छ ।
सचिवालय सदस्य खनालले पार्टी विधानअनुसार आफू वरिष्ठ नेता हुनु पर्नेमा नेपालमा नभएका बेला माधवकुमार नेपाललाई पहिलो नम्बरको बरिष्ठ नेता दिइएको भन्दै १५ महिनाअघि नै पार्टी सचिवालय बैठकमा लिखित असहमति दर्ता गरेका थिए । उनको उक्त मागको सम्बोधन गरेको बताइए पनि बामदेव गौतमलाई समेत आफ्नो पक्षमा पारेर ओलिले नेपाललाई कमजोर पारेको विश्लेषण केही दिनदेखि गरिँदै आएको थियो ।
नेता खनाललाई तेस्रो वरीयतामा राख्ने निर्णयप्रति नेपालले नोट अफ डिसेन्ट लेखेको स्रोतले बतायो । नेपालले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज नियुक्त गर्ने निर्णयमा पनि नोट अफ डिसेन्ट लेखेको जनाइएको छ ।
वि.सं.२०७६ भदौ १ आइतवार २१:५८ मा प्रकाशित






























