back

“ईश्वरत्वको अघि अपराध पखाल्ने काम बिलकुल निरर्थक, अझ मूर्खता हो

वि.सं.२०७३ मंसिर ९ बिहीवार

441 

shares
NTC AD

parijatशरद् ऋतुको एक बिहानीको कुरा हो । दशैं आउनलाई कत्ति पनि टाढा थिएन । शिवराजको बैठक कोठामा म एक्लै थिएँ, शिवलाई नै पर्खिरहेको थिएँ । म माथि आएर बसिरहेको कसैलाई थाहा भएन क्यार, विशेष बरीलाई । त्यसैले त मैले झ्यालबाट हेर्दा ऊ हरियो दूबोमाथि पर्लक्क पल्टेर के गरिरहेकी थिई कुन्नि, बिहानीको घाम ताप्न निस्केको सर्पजस्तै आफ्नो लामो शरीलाई जतिसक्दो सजिलो र फुका मुद्रामा राखेकी थिई । उसलाई त्यस अवस्थामा देख्नासाथ साँच्चैको सर्प देखेजस्तै मेरो आङ एकपलट सिरिङ्ग भयो, तर अहिले हामी मैले हेरेको ठाउँदेखि ऊ पल्टेको ठाउँसम्म भएको दूरीले अलग थियौं एक –अर्कादेखि । मैले भाग्ने चेष्टा गरिनँ, नहेर्ने चेष्टा पनि गरिनँ । यसो भनूँ मैले सकिनँ । सम्झें, देखी भने ‘अशिष्ट, बेसोमति सिपाहीको जात’ भन्ली, शिवराज आइपुगे के भन्ला ? तर ती सब कुरा मैले सोंचे मात्र, मलाई आँट आइरहेको थियो जस्तो पनि स्थिती सहनलाई । यति जाबो दृश्य पनि नहेरेर म आफैंलाई किन मारुँ,के त्यति पनि मेरो अधिकार छैन ? मेरो जीवनमा राखेकै के छ र, आँखाको स्वादजस्तो एउटा साधारण सुखदेखि आफूलाई बञ्चित राख्न नसक्नु कुनै अपराध हो र ? कुनै पाप हो र ? बरी गइसकेकी थिई, मैले झ्याल छोड्न सकेको होइन । म त्यहीं आड लिएर सम्झिरहें, कुनै विरोध र विवादको नभैकन, मैले धेरै स्वास्नीमान्छेलाई नजिकदेखि नाङ्गो हेरिसकेको छु । बरीको त त्यो अवस्था होइन, यसरी बस्दा उसलाई सुहाएको थियो , त्यसैले हेरें, होइन, सँधै हेरिरहेको हेर्न मन लागेर हेरें । मानिस आफैंलाई किन छल्न सक्थ्यो र, तर मैले हेरेको फुका अवस्थामा बसेकी बरी र कुनै पनि नाङ्गो स्वास्नीमान्छे मैले हेरिसकेको मिलाएँ, अहँँ दुइटामा कुनै सामञ्जस्य अँउन सकेन, खोजेर पनि, चाहेर पनि र स्वीकार गरें केही बिराएछु । यदि बरीलाई पनि आज मैले नाङ्गो देखेको भए के हुने थियो ? के हुने थियो –यो प्रश्नसँग गाँसेर मैले एउटा ठूलो स्पष्ट पूर्णविाम राखी आफूलाई स्वभाविक बनाउँदै झ्यालबाट वर आएँ ।
केही छिन्पछि स्यान्डलको टकटकसँग चुरुटको बास बैठकभित्र आयो । त्यसै नै मानिसको जात जानेर, बुझेर ढोङ गर्छन्, मैले पनि केही थाहा नपाएजस्तै तर्सेर बरीलाई हेरें । बिचरी उसले मलाई देखेकी रहिनछ, मुख उज्यालो पार्दै भनी “ कहिले आउनुभयो सुयोगजी ? मत देउताथान जान लागें मआसँग ।”
मैले सोधें “तिमी पनि देउतामा,पूजामा विश्वास गछ¥यौ बरी ?”
“गर्छु र गर्दिन पनि ।” ऊ नजिकैको कोचमा बसिरहेकी थिई ।
“किन ?” मैले अचम्म मान्दै प्रश्न गरें ।
“ढुङ्गा न हो, उसको अघि कस्तै अपराध गरे पनि यो उसले कसैलाई भन्ने होइन । यसैले विश्वास गर्छु चाहिएको खण्डमा झकझकाउँदा पनि भन्ने कुरा भनिदिँदैन, त्यसैले अविश्वास गर्छु । यसभन्दा बढी यौटा ढुङ्गासँग हाम्रो विश्वासको के अर्थ ?”
यहाँ पनि बीको उद्देश्य मैले बुझिनँ तर सक्दो हाँस्ने प्रयत्न गर्दै मैले भनें“कति सजिलो अर्थ दिएर तिमीले डूबुल्की हान्यौ । ईश्वरको अस्तित्व त्यतिसम्मै सीमित छ र ?
उसले लगत्तै विरोध गरी “ईश्वर नभन्नुस् ईश्वरत्व भन्नुस् । भावना न हो ।” ठूटो चुरुट आस्ट्रेमा हाल्दै गर्दा उसलाई पनि मैले एउटा भावनाजस्तो मात्र देखें, कोरा नफष्टाएको भावना, जसलाई मानिस हो भनी एउटा भावनाको माध्यामबाट सम्झिदिए पुग्छ ।
मैले अनायास भनें “त्यसो भए अब बरी नभनेर बरीत्व भन्नुप¥यो !”
“किन तपाई मेरो अस्तित्वमा शङ्का गर्नुुहुन्छ ? बरी बन्नुस्,मेरो सम्पूर्ण पहेंलिएका खिरिला अँैंलाहरुले बीच प्रायजसो डढिरहेको चुरुट र धूँवा देख्दा किन–किन त्यो दिन त मलाई झर्काे लागेर आयो तर के भन्ने । त्यसैले त्यस झर्काेलाई पनि साधारण ठट्टा गरेर पचाउन खोजें “तिम्रो ईश्वरत्वलाई पनि अब चुरुट खान सिकाइदेऊ बरी ! उसलाई पनि मान्छेको संसारमा बस्दा –बस्दा दिक्क लागिसक्यो होला ।”
हुनसक्छ ऊ हाँसेकी होली, अनुहार बेस्कन उज्यालो पार्दै भनी “ अनि क्यान्सर लागेर ईश्वरत्वको पनि मृत्यु होस् चाँडै !”
प्रत्येक मृत्यु र अन्त शब्द निस्कना साथ तिम्रो अनुहार यसरी उज्यालिन्छ भन्न मलाई मन लागेको थियो, त अर्कैभनें “तिमीलाई चुरुट नखाऊ भन्यो भने पीर लाग्छ बरी ?”
उसले चर्काे स्वरमा सजग हुँदै भनी “हो ।”
“अहिले मैले तिमीलाई चुरुट नखाऊ भनें भने तिमी के गछ्¥यौ बरी ?
“मोजसँग दसओटा खाइदिन्छु ।” मलाई कता–कता चोट लाग्यो । सम्झें साँच्चैको कठोर हो यो स्वास्नीमान्छे, अरुलाई पीर पर्ला भन्ने त यसलाई कत्ति वास्ता रहँदैन । उससँग चुरुट नखाऊ भन्नु आफैंले हार खानु मात्र थियो, मैले त्यस विषयलाई त्यहीं स्थगित गर्दै भनें “ईश्वर क्यान्सर लागेर मरेपछि तिम्रो संसारको के अवस्था हुन्छ ?”
“जस्तो छ त्यस्तै चल्दै जान्छ, मनुष्यको मृत्यु भए कुरा अर्कै !”ऊ दराजतर्फ गइरहेकी थिई ।
यतिबाटै मैले बरीको ईश्वरप्रतिको धारणा थाहा पाइसकेको थिएँ । ऊ ईश्वरको अस्तित्वलाई मान्दिन साथै मानिसप्रति उसको कुनै असल धारणा छैन सम्झें । कुन आस्थामा बचाएकी होली बरीले आफूलाई ! केही खोव्दै थिई ऊ दराजभित्र । उसको एक हत्केलाभरिमा आउन सक्ने गर्धन, मसिना कैला रौंहरुले छोपिएको सानू टाउनको के निस्सार अड्किएको छ ? हावामा ? अकारणमा ?शिवको अध्ययनमा बरी त्यस्ती होइन, मलाई यही नैएउटा सान्त्वना थियो । ऊ मलार्य हेर्दै नहेरी गइसकेकी थिई, कुन प्रेरणाको बलले म सोध्न पुगेछु “बरी! तिमी ईश्वरलाई मान्दिनौं, आफ्ना दुःख र अपराधहरु पखालेर निरोगी हुन चाहने अभागीहरु कहाँ जानु ? तिमी भए के गथ्र्यौ बरी ?”
यो प्रश्न सोधुँला भनी सोधेको होइन मैले । अचेतन मनबाट सोधुछु भने त कुन्नि, समेत भएर त मैले सोधेको पटक्कै होइन । सोधिसकेपछि लाग्यो व्यर्थै सोधेंछु तर उसले आफ्नो टाउको फर्काएर पनि खिल्ली उडाउने, बिझ्ने आँखाले हेरिरहेकी थिई ।
विवश मलाई आफ्नो प्रतिक्रिया सहेर बसिरहनुप¥यो । “ अपराध गरिसकेपछि म त्यसलाई पखाल्ने काम गर्दिनँ सुयोगजी !पखालेर अपराध पखालिन्छ ? कस्तो हाँसोउठ्दो !”
मैले धेरै नै निन्याउरो मुख लगाएर सोधें “त्यसो भए हामीमा अर्थात् हामी मानिसहरुमा सम्झौता कसरी ल्याउने ?”
उसले भनी “ईश्वरत्वको अघि अपराध पखाल्ने काम बिलकुल निरर्थक, अझ मूर्खता हो । कृपया मेरो विचारलाई मान्यता नदिनुहोला । अँ, बरु मानिसको अघि पखाले केही हलुका हुन सक्छ अर्थात् आत्मसन्तोष हुन सक्छ । मानिसमा सम्झिदिने शक्ति हुन्छ, त्यत्ति नै हो । ”
उसको सानु घिच्रो अँठ्याएर मलाई सोध्न मन लागेको थियो ‘के तिमी नै बोलेकी हौ बरी ? तर मेरो विचार धारालाई त्यसै लत्याएर उसले सोधी “किन सुयोगजी ! तपाईँको छातीभित्र पनि उकुसमुकुस छ जस्तो छ नि, सिपाहीको के विश्वास !”
मलाई सर्वाङ्गै चिसो भएजस्तो लाग्यो । चिसो मान्छेको चिसै कुरा । बढ्ता बोल्ने मलाई आवश्यकता भएन “सिपाही अविश्वासको मात्र अङ्ग हो र?” यही एक वाक्य भनेर मैले बरीलाई बिदा दिएँ । उससँग मलाई दया माग्नु थिएन । बरीसँग यस्तो उस्तो कुरा भएर पराजित भएको घटना देखेर साध्य हुँदैन, सन्तोष छ उसले कहिल्यै उपदेश दिइन, कहिल्यै सहानुभूति देखाइन । सँधै पराजित हुँदै गए तापनि मलाई किनकिन बरीको कुरा सुन्न रहर लाग्थ्यो । बरीसँग मेरो रहर ठीक काढाबीच फुलेको गुलाफलाई हात रगतपिच्छे पार्दै टिप्नु अथवा भिरालोमा फलेको काँडेदार वन–ऐसेलुको झरिलो दाना टिपेर क्वाप्प मुखमा हाल्नुजस्तै थियो । जतिसक्तो अप्ठ्यारो हुँदै मलाई बरीलाई पछ्याइरहन मन लाग्थ्यो, निरुद्देश्य र बिनाअर्थ । यति मात्र उसप्रतिको मेरो रहरको सीमा होइन । कहिलेकाँही मलाई बरीको सानू घाँटीको रहर लाग्थ्यो, कैला रौंहरुले छोपिएको मुडेको टाउकोको रहर लाग्थ्यो र उसको अस्वभाविक उठेको छातीको रहर लाग्थ्यो, तर यस रहरलाई म स्वास्नीमान्छे देख्दा लोग्नेमान्छेलाई हुने रहर भन्दा बढी केही मान्न तयार भइनँ । त्यसैले त आज बरीलाई नाङ्गी देखेको भए भन्ने प्रश्नसाथै पूर्णविरामको चिह्न लगाएर म भागेको हुँ । नाङ्गी स्वास्नीमान्छे हेरेर आइसकेका मेरा आँखाहरुले आज लुगा लगाएकी बरीलाई देख्दा अनायास अपराधको परिभाषा आफैंभित्र खेलाउन सक्नु मेरो महत्ता थियो, निः सन्देह मेरो महत्ता थियो । बरीलाई टपक्क टिपेर छयालिस वर्षको उमेरमा मलाई आफ्नो जीवन अमिल्याउनु थिएन, निस्सातामा पलापिन अभ्यस्त भइसकेको मलाई जीवनदेखि डर लाग्छ, के हो र सकमबरी ? के छ र उसमा ? भन्ने आफैंले आफैंलाई फुस्ल्याउन दिएको एउटा खोक्रो सान्त्वनामा म सँधै उसलाई बाँधेर राख्थें । मलाई स्वास्नी स्थापना गर्नुमा विश्वास थिएन, कतै कसैको विवाहको कुरा उठाइदिए म झल्झली मुजुरालाई सम्झन्थें र सम्झन्थें शायद यस्तै हुँदी हो स्वास्नी । यदि शिवराजाले मेरा बहिनीहरुमा छानेर लैजाऊ भने म मुजुरालाई लगेर कोठामा टाँसिदिन्थें । मेरी स्वास्नी भनेर उसको निधारमा लेखिदिन्थें । मैले खुलस्त भएर भने तापनि मुजुराप्रतिको मेरो विचार पनि निराधार थियो, तथ्यहीन थियो । बैठकमा बसेर सम्झँदा–सम्झँदै कायल भएँ म, जम्ममा निराधार र तथ्यहीन । सम्झें एउटा रमाइलो कथा हो मुजुरा, जसलाई मनभरि पढ्न सकिन्छ, एउटा सुखदायी दृश्य हो आँखाभरी हेर्न सकिन्छ, त किरिया हालेर भन्न सकिन्छ मुजुरासँग मेरो प्रेम भएको हैन, स्वास्नीलाई प्रेम परि गर्नैपर्छ भन्ने कुरा मलाई थाहा छैन । प्रेम कत्रो झूटो,कत्रो उपहास, कत्रो निरर्थकता !
पसल्नी एक कोपरा रगत बान्ता गरेर सुस्त भएकी छ, एउटा छोरो कमालागेको छ उनीहरुको प्रेम–कथामा। ठिटो छेवैमा ल्याम्पोष्टमा टाँस्सिएर उभिएको छ, सिमेन्टीजस्तै आफैंभित्र अव्यक्त मुद्रामा रित्तो हात, रित्तो मन । कुकुरनी लखेट्न नसकी होर फर्केको मरन्च्याँसे भुसिया कुकुर उस्तै सान्त्वना र उस्तै व्यथा लिएर ठिटोको खुट्टानिर बसेको छ । दुवै झुम्रे देखिन्छन् दुबै लखतरान देखिन्छन् । साँझको ध्वाँसे रङ्गले पोतिएको पेटीमाथि हिंड्न नियमबद्ध रात आइरहेको छ, रित्तो मन, रित्ता हातहरुलाई , उसको भन्नु केही छैन । पेटीको विपरित झ्यालमा बसेर म पनि हेरिरहेको थिएँ हत्केलाबाट चिप्लँदो साँझलाई र सम्झिरहेको थिएँ मेरो अस्तित्वले कति अमेल खान सक्छ एउटा हरुवा कुकुरहरुवा प्रेमीदेखि । हामी तीन जनामा केको पर्दा छ यहाँ, म आधुनिक बारमा भाग्छु, ठिटो भट्टीमा जान्छ र कुकुर, कुकुर घाँटी ठड¥याए रुनछ र व्यक्त गर्छ आफैंलाई, कति मिल्दोजुल्दो हाम्रो अस्तित्व ! जीवन युगको यस्तो तहमा आएर ठप्पलाग्दो रहेछ र हामी सयैमा पनि बाँच्दा रहेछौ, हामी गतिहनि भइसक्छौं, तर आफ्नो लक्ष्यतिर लगें । छीन र कचीनको बस्तीमा घ्याम्पाभरि–भरि जाँड र रक्सी पिउने लत भएका मेरा नसाहरु पेगको चुभुर्काेमा कत्ति भिज्दैनन् । त्यसैले रक्सीलाई म जीवनको पलायन मान्दिनँ, रक्सीमा डुबेर म सलबलाउन सक्तिनँ । खुलस्त स्वीकार गर्छु यो मेरो नैतिक पतन होइन, मेरो हीनता होइन ।
शिवराज आएको थिएन,शायद आउँदैन होला, म यही सम्झिरहेको थिएँ । ‘परिचित रक्याहाहरुले अर्डर बारको ठिटेले नबोली पूरा गरिदिन्छ । हाम्रो जीवनको छाप उसको अनुहारमा परिसकेको हुन्छ । लत, असफलता, असन्तोष, झर्राे, विरोध र पलायनको ऊ एउटा जिउँदो नमूना देखिन्छ । रक्सीको टिप उठाएर शायद ऊ भाग्छ यस सीमाबाट बाहिर कि त कुनै मायालुको न्यानो अँगालोमा कि त कुनै दरिद्र आमाको झुत्रे सुकुलमा आफ्नै केही खस्किएको अनुहारमा ।
“सुयोगजी ! बजारमा पानामा चुरुट पाइँदैन, ब्लयाकमा एक पेटी भनेर आएको छु, अहिले जाँदा लिएर जानुपर्छ ।”
चुरुटको पेटि पछिल्तिर मैले एउटा सुनौलो टाउको पलपना गरिसकेको थिएँ । त्यसैले मैले उस्तो प्रमुखता दिइनँ उसका कुरालाई । उसले फेरि भन्यो “ बरी भोलि मधेस जाँदैछ महिना दिनको निम्ति ।” त्यसपछि उसले धेरै के के भन्यो , तर मैले उसको मुख चलेकोमात्र देखें । मलाई यो भएको थियो भनी म किटेर भन्न त सक्तिनँ, जे भएको थियो त्यो मेरो जीवनमा कहिल्यै भएको थिएन, नौलो अनुभव । ‘बरी भोलिदेखि यहाँ हुन्न’यत्ति नै प्रशस्त थियो मेरो निम्ति आफैंलाई बलियो मुक्का ख्वाएर पछारिनलाई वास्तविकताको ठूलो फाँटमा जहाँ सपना, कल्पना र ढोंग केही थिएन, केवल एउटा वास्तविकता । म आफैंमा एउटा रित्तो भाँडोमा अनुभव गर्न थालें रित्तो बोतलको असमर्थता, आफूबाट भागेको तरलाई बटुल्न नसकी जिल्लिएको, मैदानबीच एकलासे रुख आफ्नै हाँगाबाट उडिसकेको बकुल्लालाई पछ¥याउन नसकी टोह्लाएको, नितान्त एक्लो कस्तो नाङ्गो वास्तविकता जसलाई आफूभित्र छोप्ने,लुकाउने कुनै साधन छैन ।
“जमेर बस्नुभएछ सुयोगजी ! बोल्नुहुन्न नि !” शिवराजको यही वाक्यले मलाई झस्कायो । मरन्च्याँसे हाँसो हाँस्दै बरीको जस्तो ओठ दिएको शिवराजलाई मैले हेरिरहें, आफूभित्रको उदाङ्गोपनलाई सक्तो छोप्न खोजें । ऊ भन्दै थियो “प्लेनको टिकट पाइएन, बाइरोडको टिकट लिए आएको छु ।” सन्तोष लाग्यो शिवराजले मेरो अनुहारको भावको लख काटेन । ऊ त्यस्तो ठम्याउने मानिस पनि होइन ।
स्थितीदेखि फुत्कन खोज्दै मैले भनें “त्यहाँ चुरुट पाइन्न र ?”
सिलसिलामा मिल्ने प्रश्न नभए तापनि शिवराजले भन्यो “पाउँदो हो, नपाइए गाह्रै पर्ला भनेर ।”
त्यसपछि बरीको जानाका कारणहरु उसले बताएन र चाँडै बारबाट निस्क्यो । अन्तिम ग्राहक बनेर म पनि निस्कें निराश्रित, मेरो छयालिस वर्षका निख्लाम हुर्केका दिनहरुमा पहिलोपटक स्वास्नीमान्छेको निम्ति विवशता अनुभव गर्दै ।
क्रमशःचिसो हुन लागेको रात, स्याँठले निकै हान्थ्यो । रित्तिसकेको सडकै–सडक आफूलाई घिसार्दै रत्नपार्क आइपुगें । सम्झन थालें ‘यही मुटुले कति स्वास्नीमान्छेलाई काखमा उठाएर फेरि तिरस्कार गरिदिएको छु तर, स्वास्नीमान्छे आफूदेखि टाढा हुँदा रित्तो र एक्लो अनुभव गरेको छैनँ । बरीसँग अब त्यो घरमा महिना दिनको निम्ति भेट हुँदैन, यत्ति न हो मेरो समस्या ? फेरि मलाई यो छटपटी किन ? कुन आसक्तिको सम्बन्ध राखेको छु र मैले बरीसँग ? के चाहान्छु म बरीदेखि ? को हो बरी मेरो ? बरी नहुनुमा किन मभित्रको लोग्नेमान्छे यसरी विचलित हुन्छ ? तिमीप्रति मेरो यो यौनको भोक होइन बरी ! किनभने त्यो पनि राम्रैसँग अनुभव छ मलाई किनकी तिमीलाई नाङ्गो हेर्दा म झस्केको छु । तिम्रो गर्धन र छातीको रहर यो होइन बरी ! किनभने अँध्यारोमा एक्ली तिमीलाई कतिचोटी पाएको छु, म जे पनि गर्न सक्थें । तिम्रो मुखबाट आएको सुकुमेलको बास र तिम्रो शरीर छोएर आएको हावाबाट नै मैले आफूलाई सन्तुष्ट बनाएको छु, यसैले कि तिमीप्रति मेरो यौनको तीव्र भोक छैन । तिमीलाई देख्दाखेरीको मेरो रहर रहर मात्रै हो, एउटा लोग्ने मान्छेको विवश रहर । ’म निष्कर्षमा पुग्न सकेको छैनँ । लाग्यो कुन अचेतनामा स्याहारेछु मैले बरीको नफस्टाएको कोरा भावनाजस्तो जीवनलाई, एउटा लामो कार्टुन शरीरलाई ।
कति बेर रत्नपार्कको चिसो चौतारीमा उद्देश्यहीन आफैंलाई पर्खाएर म बिस्तारै डेरातर्फ फर्कें । मस्तििष्कभरि विवशता बोकेर हिंडेको मेरो निर्धाे शरीरलाई मेरै खुट्टाहरुले जिस्क्याउँदै लगिरहे । डेरा पुगेर फेरि रक्सी थपें, भात खाइनँ । पहिलोपल्ट निन्याउरो मुख लाएर म खाटमा पल्टिरहें ।
सम्झें ‘बरी भोली जाँदैछ, तर फर्कन्छे ।’ यहाँ पुगेर पनि मेरो छटपटीले आड पाउन सकेन । कता–कता आफैंमा फाटिएर, आफैंसित गुनासो गरें ‘कहीं प्रेमजस्तो निकृष्ट र निरर्थक सत्यमाथि बलि जान लागेको त होइन ? कहीं यही कोमल र कलिलो भावनाको शिकार हुन लागेको त होइन मेरो बूढो शरीर, मेरो खरो जीवन, जम्मामा मेरो निस्सार जीवन ? यदि हो भने यो नाङ्गो उपहासलाई मैले कसरी सहने ? यो कटु व्यङ्गे¥यलाई मैले काँधमा कसरी थाप्ने ?’
निद्रा र अनिंदो अवस्थाको माझमा झुण्डिएको त्यो रात म सुतेको पनि होइनँ, नसुतेको पनि होइनँ । रातभरि मलाई चुरुटको धूवाँको मुस्लोले एठन पारिरह्यो, सपनाजस्तो ठाउँमा । कतिपल्ट धूँवामा निसास्एिर म बाहिर आउन खोजें । रातभरि मलाई सुनौलो टाउकोले तर्साइरह्यो, निकोटिनले पहेंलिएका औंलाहरुले घाँटीमा मुसार्न आइरहे । सक्तो मैले आफैंलाई उम्काउन खोजें तर रातभरि पाँच फुट तीन इन्चकी एउटी मुडुली स्वास्नीमान्छे मसँग बसिरहीं । तिर्खाले व्याप्त भएर पानी पिउन उठ्दा मलाई आफैंप्रति दया लागिरहेको थियो ।
रातको शून्यतालाई छिर्दै हिस्टेरिकजस्तो मलाई चिच्याउन मन लाग्यो ‘बरी! तिमीसँग त मेरो प्रेम भएछ क्यार’तर यो उपहासको बोझ बोक्न नसकि म पिरोलिन थालें । अप्ठ्यारोमा निस्केको पिलोजस्तो म कहाँ लगेर देखाऊँ यस विवशतालाई ? चुरुट तानेर रात काट्न बहाना गर्न खोजिरहें र सम्झिरहें ‘कति हीन म, साथै कति निर्धाे ? जापानको गोलीबाटबचेर आएको म यही दिनको उपहास सहनलाई होला । मैले आफैंलाई निस्सार तुल्याई सँगालेको जीवन यही विवशतामा पिल्सनलाई होला । कति घिनलाग्दो सत्य सजिलै अस्वीकार गर्न नसकिने !’
रिमझिम उज्यालो हुँदा म राता आँखाहरुलाई सजीव केही नभएको जस्तो बनाउन झ्यालको चिसो हावा थापेर बसिरहें । अािंदोले कपाल दुखेको थियो, रक्सीको गर्मीले पेट र छातीको उकुसमुकुस हराएको थिएन । पातलो तुवाँलोले एक पत्र छोपेको आकाश उज्यालिन लागेको थियो । खरानी रङ्गमा भरखर जाग्न थालेको काठमाण्डू कति विरक्तलाग्दो देखिन्थ्यो । यन्त्रचालितजस्तै म मुखसुख धोए आफ्नो नयाँ सुटमा निस्कें, त्यही सुट जुन बरीको जन्मदिवसमा एकपलट लगाएको थिएँ । बरीलाई पु¥याउन जाने मेरो आवश्यकता थिइन,शिवराजले मलाई बोलाएको पनि होइन, म त्यसै भौंतारिएर बस छुट्ने ठाउँको अलिक पर गएर रोकिएँ केवल ऊ बस चढेर गएको हेर्न । बिरानो टोलमा पस्न हिचकिचाएको निर्धाे लूते कुकुरजस्तो आँट र भर नपुगेर टाढा बसिरहें कसैले देख्ला भन्ने डर खपेर ।
ऊ आई, हातमा यौटा ब्याग झुण्ड¥याएर । शिव आयो अलिक ठूला एअरब्याग बोकेर । एउटा काम गर्ने स्वास्नीमान्छे र ऊ बस चढिसकेपछि झ्यालबाट ऊ निकै बेर शिवराजसँग कुरा गरिरही । मलाई जीवनमा पहिलोपल्ट एउटा लोग्नेमान्छेसँग ईष्र्या भइरह्यो । बसले एक मोड खाएर ओझेल भइसकेपछि काठमाण्डू मात्र होइन, मलाई मेरो संसार शून्य लाग्यो, बिरानु लाग्यो । लाज पचाउँदै, आफूभित्र तर्सिँदै मैले मनभित्र दोहो¥याएँ ‘मेरी सकमबरी ! म तिमीलाई प्रेम गर्छु ।’
फर्कँदा मेरो प्रत्येक पाइलाले मलाई व्यङ्ग¥य गरिरहेको थियो, प्रत्येक परिचित मोडले, प्रत्येक परिचित पसलले र प्रत्येक अभ्यस्त अँध्यारा गल्लीहरुले मलाई गिज्याइरहेका थिए । भुसिया कुकुरहरु मलाई हेरेर एकतमासले भुकिरहेका थिए । म प्रत्येक थोत्रा ट्रकको अघि पनि हीनता अनुभव गरिरहेको थिएँ, नयाँसडकको मुखमा बस पर्खिरहेका बैंसालुको एक जोडादेखि छिटो आँखा बचाएर भागें ।
प्रेम मेरो निम्ति व्यङ्ग¥य भएर उभिएको थियो । मनभित्र बरीको प्रेमलाई लुकाएर शायद बाँकी जीवन यस्तै हीन बनेर बिताउनु छ । बूढो लाहुरेले खल्तीमा सजाएको रुमालजस्तो, बूढो रुखमा बेमौसममा टुसाएको मुनाजस्तो, बैंस गइसकेपछि नाकको डँडाल्नीमा आएको डण्डीफोरजस्तो बरी मेरो मुटुमाझ निर्धक्क पल्टिदिई । यो त भयो मेरो व्यङ्ग¥य, यस विडम्बनालाई म हाँसी–हाँसी सहिदिन सक्थें । लौ मानें, मैले प्रेम गर्न थालेछु, एउटी मभन्दा बाइस वर्ष सानी ठिटीलाई ,एउटा निस्सार बितिरहेकी स्वास्नीमान्छेलाई, के भो त ? प्रेम अन्धो छ–को नातामा म भन्न जाउँला ‘ बरी !’ म तिमीलाई प्रेम गर्छु भन्न, प्रेम जसको बीचमा पनि त हुन सक्छ, तर मेरी सकमबरी ! यो बूढो रक्स्याहा सिपाहीलाई के भनेर तिमी आफ्नो छातीमा स्थान दिइरहौली र ? तिमीले बूढो भनेर मानिसको बूढो हाडमा तिमी पह्लाइसकिछौ, अब के भनेर मेरो बूढो प्रेमको प्रतिक्रिया दिएर तिमी आफ्नो कपाल दुखाइरहौली ? कुनै दिन यो सस्तो परिभाषा लिएर तिम्रो सामु म आफ्नो सत्य –अभिव्यक्ति ओकल्न आउँला, तिमिले अवश्य मलाई गतिलो झापड हान्नेछौ, मेरो मुखभरि थुक्नेछौ । प्रेम नहुँदा पनि मेरो निमित्त निस्सार नै थियो र अब भएपछि पनि निस्सार । के मूल्य मेरो ? के मूल्य मेरो प्रेमको ?
बरीको अनुपस्थितीमा पनि म त्यो घरमा गइरहें । कुन्नि त्यहाँजानमा म के सन्तुष्टि पाउँथें ? चुरुटको मात्रा मेरो बढेको थियो, चुरुट लगातार तानिरहनुमा म अर्कै सन्तुष्टि पाउँथें ।
इन्सेक्ट–किलर सुनगाभाका फूलहरु हातहरुले छोएर पनि एउटा सन्तुष्टि लिन्थें ।यति थिए मेरो सन्तुष्ट हुनुको सीमा तथा साधन । सन्तुष्टि मैले खोजेर लिनुपथ्र्याे, बाँच्ने बहाना गर्नुपथ्र्याे, नत्र मभित्रको अव्यक्त असन्तोषले मलाई एकनास खाइ नै रहेको थियो । यति विवश म, आफैंले एउटा घेराको सृजना गरी त्यसमै रङमङिएर, भुलेर हिंडिरहनुपर्ने । कहिलेकाहीं त शिवराजलाई हेरेर पनि म चित्त बुझाउँथें, शिवराजसँग बरीको र शिवराजसँग मेरो पनि घनिष्ठता छ, अनि लाग्थ्यो त्यसै ।
महिना दिनपछि ऊ आई, केही अझ दुब्लाएर । त्यही साँझ मैले उसलाई हेरं । एउटा घेराभित्र थुनिएको, एउट सीमादेखि उता जान असमर्थ, मेरो उसलाई भन्नु केही थिएन । उसले मलाई एक दिन भनी “सुयोगजी ! दुब्लाउनुभएछ ” र मैले स्वीकार गरें । मधेसबाट फर्केर आएपछि उसले केश छोट¥याइन,कान छोप्ने गरी, घिच्रो छोप्ने गरी पलाएको थियो उसको केश । मलाई स्वास्नीमान्छेको लामो केश भएको मन पथ्र्याे । यसैले मैले उसलाई एक दिन भनें “बरी ! तिमीलाई केश पालेको कति सुहाएको छ, अब त पाल्ने गर है !” त्यसको तीन दिनपछि जाँदा एक इन्चको हिसावले केश छाँटेर ऊ बसिरहेकी थिई, हरिद्धारमा केश फालेर आएकी विधवाजस्ती, भरखर मुडुलाएर छोडेकी बौलाहीजस्ती भएर । उप्रान्त मैले केही भन्ने साहस गरिनँ, मलाई चोट लाग्यो,उसदेखि विरक्ति लाग्यो ,तर यो मूल्यहीन चोट विरक्तिले मलाई उसको बाटो पहिलाएर म कहाँ सक्छु र ! मेरो उल्टो दिशातिर हिंडिरहेकी हुन्छे ऊ जहिले पनि । एउटा नदीको जहिले पनि म उँभो लागेको छु र ऊ सलसल्ती विपरित बगेर गएकी छ, त्यस भँगालोलाई फर्काएर एकपल्ट मेरो आफ्नो बाटोतर्फ बगाउनु अनि त्यसको पछि केही कुरा नसम्झे हुन्छ, त्यसैले यो मेरो कथा अति दयालाग्दो र अति हीन ।
प्रेम निस्सार मानिसहरुसँग निस्सार प्रेमसँग सधैं हातेमालो गरेर हिंडेका छन् । प्रेमको अस्तित्व रहेको छ निस्सारतामा र म पनि एउटा निस्सार प्रेमलार्य छातीमा च्यापेर हिंडिरहेको छु । प्रमाणित गरिरहेको छु आफैंलाई, दुःखको गोरेटोका जीवनलाई बोकेर हिंड्नुपर्छ, भोगेर हिंड्नुपर्छ । कति कठिन छ यो जीवनसँग पार पाउनु, सबै रित्याएर, हराएर पनि बाँचिन्छ, केही नपाउनलाई बाँचिन्छ ।’ यसरी प्रशस्त विचारहरु खेलाएर डुलिरहें काठमाण्डूका सडक,गल्ली, होटेल र बारहरुमा । पोखिने मेरो कुनै साधन थिएन, ठाउँ थिएन । मेरो छातिमा प्रेम एउटा गतिलो खाडल खनेर बसिरहेको थियो । दुब्लाउनु के थियो अझ बूढो देखिइनु थियो । उमेरले बूढो बनाएको मानिस, छालाले बूढो बनाएको मानिस, पीरले खुम्च्याएको अभिव्यक्ति, सहर्ष स्वीकार गर्दै जाँदै थिएँ नाङ्गो वास्तविकतालाई र सान्त्वना दिन्थें आफैंलाई यस्तै हो नि मान्छेको प्रारब्ध भनी ।
हिउँदमा कठ¥याङग्रिएर दिनहरु बित्न लागेका थिए । तुषारो र कुहिरोले खेलेर उजाड बनाएको काठमाण्डू, बरीको फूलबारी, शिरिषका रुखहरु, दूबोको चौर, आश्रय पाउन धाएको कुकुरको जस्तो मेरो अस्तित्वलाई लिएर पृथ्वी घुम्दै थियो नियमबद्ध ।
माघको बीच महिनाहुँदो सानु पोइल गई । शिवराजले केही दिन बेइज्जतीको अनुभव ग¥यो । मजुराले र आमाचाहिंले सम्झौता गर्ने प्रस्ताव राखे, मुजुराको भन्नु थियो “एक–अर्का रुचाएर गएदेखि कसको के लाग्छ र ? उनीहरु जीवन बनाएर बस्न सकिहाल्छन् नि । सानु कुनै खराब चालचलन भएकी केटी होइन । ”
शिवराजले बरीलाई सोद्धा बरीले यतिनै भनी रे “मात्तिएकी ठिटी, कत्रो हतार परेको बिहे गर्नलाई !” त्यसपछि उसले कहिल्यै सानुको नाउँ लिइन, सानुलाई हेर्ने इच्छा प्रकट गरिन । एक किसिमले चटक्कै बिर्सिदिई, फेरि समागम भई आफैंमा ।
यी सबै अव्यक्त भएर मैले सहिरहेको थिएँ, हेरिरहेको थिएँ । कोरा आदर्श र कोरा भावनामा मेरो जीवन पलापिन असम्भव हुँदै गयो । जति चिन्दै गयो बरीलाई उति म फस्दै जान्थें, उति सम्मोहित हुँदै जान्थें र उति उसप्रतिको मेरो रहर तीव्र हुुँदै गयो । मेरो रित्तो मस्तिष्कमा एउटै शब्द वारपार खेलिरहन्थ्यो त्यो हो सकमबरी । जत्ति टाढा भगाउन चेष्टा गर्थें, उति म उसको नजिक हुरुक्क भइरहेको पाउँथें । सधैंभरी एकतमाससँग म उसलाई सम्झिरहन्थें, कत्रो व्यङ्ग्य ! ममा एउटा लोभको सञ्चार भइसकेको थियो सिङ्गो बरीलाई पाउन । घाँटी, छाती र टाउको नभएको बरीलाई होइन र यी नभएर विरोध मात्र ओगटेको उसको आत्मालाई होइन । उसप्रतिको शारीरिक रहरसँगसँगै उसलाई पनि, जम्मा बरीलाई एउटी ठोस सकमबरीलाई सम्पूर्ण उसदेखि कुनै उसको मानसिकता नछुट्ट¥याएर, उसदेखि कुनै उसको आसक्ति नछुट्ट¥याएर । म अँगाल्न चाहन्थें बरीलाई, सम्पूर्ण उसलाई आफूभित्र र समावेश गराउन चाहन्थें आफैंमा ।
नश्वरतामाथि आफैंलाई अड्न दिन सकिनँ । तिम्रो नश्वर शरीर मलाई चाहिँदैन, तिम्रो आत्मालाई साँचो माया गरेको छु भनी मैले मलाई भ्रममा राख्न सकिनँ । यो ढोंग र असत्य भावनाको आधारमा मैले आफूलाई सन्तुष्ट बनाउन सकिनँ । मानिस अज्ञानी हुनु नै सुखी हुनु हो । मलाई सिङ्गो ऊ र सम्पूर्ण ऊ चाहिएको थियो । शिवसँग यो पीर पोख्नु आत्महत्या गर्नुबराबर थियो । मैले राम्रोसँग अध्ययन गरिसकेको थिएँ, मुजुरा हो भने कुन्नि त सकमबरीलाई एउटा बूढो रक्स्याहाको हात छोड्नु शिवको निम्ति पनि आत्महत्या गर्नु थियो । कुनै पनि अवस्थामा बरीलाई उसले मेरो अघि बलि दिदैन । अब पनि काठमाण्डूबाट भागिनँ भने मेरो बहुलाउनु निश्चित थियो । भाग्ने कुरा सम्झ्यो कि झन् नरमाइलो लाग्थ्यो । प्राप्तिदेखि टाढा अनकन्टारमा अन्धाधुन्ध आफूलाई निर्वासित गरिदिएर कसरी बाँच्ने, अनि म निसास्सिएर आउँथें ।
कहिले लाग्थ्यो, सम्पूर्ण आफूलाई पखालेर, पगालेर मन र मस्तिष्क जम्मै उदाङ्गो देखाएर यदि नयाँ जीवन सुरु हुने सम्भावनाको अस्तित्व कहीं भए मैले पनि बरीसँग जीवन दान मागे हुँदैन ? आफ्नो दुःख बिर्साए, अतीत बिर्साएर, अपराध बिर्साएर मैले एकपल्ट आफैंलाई कसीमा राखेर हेर्नुपर्ने हो । हुनुसक्छ ऊ मलाई तिरस्कार गर्छे, घृणा गर्छे र शक्तिले पुगे मार्न बेर लाउँदिन, एउटा सत्य त खोलिन्छ । यति थाहा पाउनेछ उसले, कसरी सुययोगवीर सिंहले सारा जीवनका अनुभूतिलाई निरर्थक आफूबाट चिप्लन दिएर, खोक्रो बाँचेर, रित्तो बाँचेर,आफ्नो छयालिस वर्षको उमेरमा सारा मन उदाङ्गो पारी एउटी चौबीस वर्षकी ठिटीसँग सत्य प्रेमको प्रतिक्रिया मागेको थियो । यति त थाहा पाउनेछ उसले, मैले उसलाई कस्तो दयनीय अवस्थामा प्रेम गरिरहेको छु । केही हुलुङ्गो त हुनेछु म, केही सुखी त हुनेछु । चिच्च्याउन मन लाग्थ्यो ‘मेरी चोखी सकमबरी !मलाई पनि चोखिन त देऊ बाँच्न त देऊ ।’ एउटा व्यथा बोकेर म बाँचिरहें । रक्सीसँग पिउँथें उसलाई फेरि रक्सीको छोडाइसँगै तर लगाइराख्थें । सम्झन्थें म कहाँबाट कहाँ आइपुगें । दँजाएर हेर्थें आफ्ना अनुभूतिहरुलाई र निष्कर्षमा पुग्न चाहन्थें,मेरो बाँच्नुको कुनै मूल्य छ कि छैन ? कसरी मूल्यहीन गुज्रेर गएका छन् ममाथिबाट युगका पाङ्ग्राहरु र कति निकृष्ट हुर्केको छु म । एक–दुई–तीन गर्दै पल्टन्छ पुरानु इतिहास र यसैमा म आफ्नो मूल्य खोज्थें र सम्झन्थें कसले मलाई के मूल्य दिन सक्छ ? के महत्व दिन सक्छ ? मेरो कुन स्थान छ यस युगमा ?मलाई भनेर बाँच्नुको कुन सान्त्वना छुट्ट¥याइएको होला ? के न्यास दिन्छ मलाई सभ्यता र प्रगतिले ? के पुरस्कार दिन्छ मलाई मानवताले ? कुन हो मेरो आश्रय ?
एउटी क्षीण ठिटीको अनुहार मेरो अघि उत्रन्छ र आँखा तरेर जान्छ । बलिया–बलिया हात–खुट्टा, गहुँगोरोोगन, कुनै चेतनशीलता नलुकाएका सफा आँखाहरु, लट्टा परेको केश, महोगनीको रुखको आडमा शिकार गर्न बसेकी, म सम्झँदै जान्छु । मध्यरात भएको होला, क्यामोफ्लेज भएर बसेको सैनिक बहादुरको उपस्थिती थाहा नपाई खोलाको कुलुलु स्वरसँगै बहलिएर ऊ बसेकी छ । जुनको रङ्गमा पहेंलिएकी, जङ्गली फूलको बाससँग अभिव्यक्त भएकी, यदि कसैलाई स्वर्गालु भन्न सके ऊ त्यही हो । अज्ञान, निरपराध, अस्तित्वको किराले कतैबाट नखाएकी सग्ली उसलाई हेरेर मात्र बस्न सकिन्न । के थाहा उसलाई बिचरी, आज मानिस कहाँ पुगेको छैन ? कसरी यो आधाराततिर अभेदको जङ्गलमा पनि ऊ एक्ली छैन ? यो गोर्खा रेजिमेण्ट बसेको जिल्ला हो, यहाँ भरेभोली जापानीहरु आइपुग्न सक्छन् बम खस्न सक्छ, कति सिपाहीहरु लुकेर बसेका छन् पोथ्रापोथ्रितिर मार्न कि मर्न भनी, तर उसलाई यसले कत्ति विचलित पार्दैन । शिकार भेट्टाएदेखि एउटी स्वास्नीमान्छे नाङ्गा पाखुराहरुलाई जूनमा टल्काएर केन्द्रित भएको छ । जति उसलाई हेर्दै जान्छु, मलाई क्याममोफ्लेजको बन्धनले घाँटी निमोठ्न थाल्छ, युद्धले पिरोल्छ, विरोध गर्दै झ्याङबाट फुत्कन मन लाग्छ, मेरो क्षणिक अस्तित्वमाथि मलाई मोह भएर आउँछ, मलाई त्यो स्थिती लुट्न मन लाग्छ । म मनमनै भन्न थाल्छु ‘ए छीनकी सुकुमारी छोरी ! मेरो मात्र होइन, यहाँ तिम्रो जीवनको पनि अस्तित्व छैन, मेरो मात्र होइन, तिम्रो मृत्युको पनि अर्थ छैन । यो युद्धको घनघोर क्षेत्रभित्र हामी दुइटैको मृत्यु छैन । तिमी र ममा के दुश्मनी छ र ? तिमी के पाउँछ¥यौ अनि म के पाउँछु र यो यद्धु जितेर होस् वा हारेर !
हिजो मात्र तिम्रो हेडहन्ट बाबुको निम्तोमा तिम्ीले मान्द्रोमा पस्केको भात र ठाउँ–ठाउँमा सजाएको अर्नाको फिलो तिम्रो कुकुर र म साथै बसेर आएका हौं । घ्याम्पाभरि रक्सी खुवाएर कस्तरी तिमी खुशी भएकी थियौ । तिमी नै त हौ बाहिर आएपछिपनि अर्नाको सिङभरी रक्सी बोेकेर मतिर झम्टिने,तिम्रा पाखुराहरुको विरोध नै गर्न सकिनँ, घटघटी पिइदिएँ । शायद मेरो खाँदिएको बलिष्ट शरीर देखेर तिमी मोहित भएकी थियौ, त्यसैले आफ्ना हेडहन्टर बाबुलाई के के भन्दै मलाई देखाइरहेकी थियौ । कति सरलता थियो तिमीमा, हामी यतिका गोरा–काला पाहुनाहरुको माझ पनि तिघ्रा जम्मै देखाएर हिंडिरहेकी थियौ । तिम्रा आँखाहरुमा कति कमला भावनाहरु पढ्न पाइन्थ्यो, तर हामी सिपाहीको जात हामीलाई के वास्ता र हगि ? तिमीलाई देख्दा मलाई हाम्रो पहाडको किरातँ स्वास्नीमान्छेहरुको सम्झना आएको थियो, तर तिम्रो बाबुर उनीहरुको बाबुमा धेरै फरक छ ।

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०३:४६ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

लघुकथा : विपर्यय

लघुकथा : विपर्यय

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मेरो निधारमा परेको नरम...

लघुकथाः पायस (सोह्र श्राद्ध विशेष)

लघुकथाः पायस (सोह्र श्राद्ध विशेष)

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘खै पासय तयार भएन...

लघुकथा : परदेशी

लघुकथा : परदेशी

सुरेशकुमार पाण्डे, दाङ घोराही ‘रेश्मी आजैको फ्लाइटमा स्वदेश फर्किंदै छु...

लघुकथाः खल्को

लघुकथाः खल्को

मनिषकुमार शर्मा समित, भक्तपुर लगातारको ढोकामा आएको ढकढक आवाजले ऊ...