१९ भाद्र, स्याङ्जा । ४० औँ राष्ट्रिय शिक्षा दिवसको पूर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले बुधबार गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सूचना प्रविधिको विधामा गरेको प्रयासले आफूहरू धेरै लाभाविन्त भएको बताएका थिए । प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयका साकार बस्नेत प्रथम भएका थिए । त्यसैगरि दामगाडे माध्यमिक विद्यालयकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थानमा जनआदर्श माविका सविन पौडेल भएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतीले सूचना प्रविधिप्रतिको लगाब तथा खोज तीब्र रुपमा देखिएको बताए । गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ ।
वि.सं.२०७६ भदौ १९ बिहीवार १५:०७ मा प्रकाशित






























