८ असोज, काठमाडौँ । ‘म मरो एन आर एन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन यही आश्विन २८ गते देखी ३० गते सम्ममा काठमाडौँमा आयोजना गर्ने भएको छ ।
उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको संघले जनाएको छ ।
उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रुपमा संघको सचिवालयले नै कार्य गरिरहेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहेका छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलनमा नेपाल सरकार, यहाँका राजनैतिक दल एवं नागरिक समाज, समाजसेवी तथा संचारकर्मीहरुको सहभागीता रहने छ ।
यसै सन्दर्भमा अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनीसीसहरुको महाधिवेशन सम्पन्न भइ अन्तर्राष्ट्रिय महाधिवेशन मतदान अधिकार सहितका प्रतिनिधिहरु चयनको कार्य भइरहेको पनि संघले जनाएको छ ।
विश्व सम्मेलनमा भागलिने मध्यपूर्व, मलेशिया, अफ्रिकाका गैरआवासीय नेपालीहरु र नेपाल भित्रका इच्छुक नेपाली नागरिकहरुको लागि १०० अमेरिकी डलर र यस बाहेका गैरआवासीय नेपालीहरुका लागि २०० अमेरिकी डलर प्रतिनिधि शुल्क तोकिएको छ ।
यस सम्मेलनमा प्रायोजक भई सहयोग गर्न समेत अनुरोध पठाइसकेको बताइएको छ । साथै यसको विस्तृत विवरण संघको वेब साइट www.nrna.org/9thgc प्राप्त गर्न सकिने छ । गैरआवासीय नेपाली संघको यस सम्मेलनलाई भब्य रुपमा सफल बनाउन वर्तमान कार्यसमिति सबैमा हार्दिक अनुरोध समेत गरिएको छ ।
वि.सं.२०७६ असोज ८ बुधवार १७:४६ मा प्रकाशित
























