९ असोज, अमेरिका । अमेरिकामा आयोजित ‘अमेरिका कप कराँते च्याम्पियनसिप २०१९ मा नेपालका हिक्मत घर्ती मगरले दुई गोल्ड मेडल जितेका छन् ।
अमेरिकाको न्युर्योकस्थित क्विन्समा २२ सेप्टेम्बरबाट सुरु भएको उक्त कराँते च्याम्पियनसिपमा पोर्चुगलबाट भाग लिन आएका रुकुमका हिक्मत घर्तीले दुई गोल्डमेडल जित्न सफल भएका हुन् ।
४० देशका खेलाडीहरुको सहभागिता रहेको उक्त च्याम्पियसिपमा ६७ केजी तौल समुहको कुमुतृे र एकल कातामा स्वर्ण जितेका हिक्मतले दुवै प्रतिष्पर्धामा अमेरिकी खेलाडी अलेक्स नेल्सन र कातामा पनि अमेरिकाकै खेलाडी उउड् एजायुईलाई पराजित गरेका हुन् ।
घर्तीले २०१४ मा जर्मनीमा आयोजित अन्तराष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समूहको कुमेतीमा नेपाललाई रजत पदक दिलाएका थिए भने २०१४ मै बेल्जियममा सम्पन्न प्रथम गेन्ट सिटी अन्तराष्ट्रिय बुदो कराँतेमा कपमा पनि ६० केजी तौल समूहमा क्युबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

त्यस्तै फ्रान्सको चाल्र्स डे गौल्ली शहरमा सम्पन्न भएको केड्लु एफ अन्तराष्ट्रिय कराँते प्रतियोगितामा ५५ केजी देखि ६३ केजी तौल समुहको कुमेतीमा रजत पदक तथा व्यक्तिगत ६७ केजी कातातर्फ स्वर्ण पदक दिलाएका थिए । उनले जर्मनीको हाम्बर्गमा शहरमा आयोजित एल्बी कप अन्तराष्ट्रिय कराँते कपमा कातातर्फ कास्य पदक हात पारेका थिए भने कराँते ओपन लिस्बोन २०१८ मा कुमुती ६१ केजी तौल समूहमा कास्यपदक प्राप्त गरेर नेपालको गौरब बढाएका थिए ।
चार वर्ष अघि अवसरको खोजीमा पोर्चुगल पुगेका रुकुम, पुथा उत्तरगंगा गाउँपालिका १० तक्सेराका २६ वर्षीय मगर पोर्चुगलमा पनि आफ्नो खेल जीवनलाई निरन्तरता दिँदै आएका छन् । उनी अब्बल खेलाडीका रुपमा मात्र नभएर विदेशीहरुका वीच प्रशिक्षकका रुपमा समेत परिचित छन् ।

सोहि अवसरमा हिक्मत घर्तीलाई मगर संघ अमेरिकाले बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको पनि मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष कुलदीप राना मगरले बताएका छन् ।
‘रुकुमदेखि पोर्चुगल र पोर्चुगलबाट कराँतेमा भागलिन अमेरिका आएका हिक्मत अमेरिकी खेलाडीलाई पराजित गर्दै दुई स्वर्ण पदक जित्नु सिंगो मगर समुदायका लागि मात्र नभएर देशकै लागि गर्वको कुरा हो’ मगरले संसारन्युजसँग भने, ‘विदेशमा रहेर पनि नेपाली शान राख्न सफल भएका यस्ता खेलाडीहरुलाई देशमै अवसर दिन सके, वातावरण मिलाउन सके देशको नाम राख्न अझ सफल हुने थिए ।’

वि.सं.२०७६ असोज ९ बिहीवार १०:०३ मा प्रकाशित
























