९ असोज, काठमाडौँ । पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्ले सहित ३ जना माथि मुद्दा दायर गरिएको हो ।
उक्त विद्यालयका लेखापाल (मा.वि. तृतीय श्रेणी) बद्री प्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी ले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवागा्रहीसँग रु. १ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
अनुसन्धानको क्रममा निजहरूले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न पश्चात् उक्त रकम लिएको प्रमाण पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ असोज ९ बिहीवार १५:३१ मा प्रकाशित





























