२ मंसिर, काठमाण्डौं । जापानबाट फर्किएका युवाहरुको प्रयासमा नेपालमै पहिलोपटक सबै रेष्टुरेण्टको मेन्यु अटाउने ‘रेष्ट्रो मेन्यु’ नामक एप्स संचालनमा आएको छ ।
जापानमा अध्ययन तथा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरेर स्वदेश फर्किएपछि विभिन्न क्षेत्रमा व्यवसाय संचालन गरिरहेका सुरेश रेग्मीको नेतृत्वमा रहेको स्मार्ट अनलाईन सोलुसन कम्पनीले नेपालमै पहिलोपटक यस्तो प्रकारको एप्सको संञ्चालनमा ल्याइएको हो ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पर्यटन व्यवसायी, तथा सकारात्मक सोँचका अभियन्ता कर्ण शाक्यद्धारा उक्त एप्सको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले युवाहरुले गर्न लागेको यस्तो कामको प्रसंसा गर्दै युवाहरु नै देशको आस, विश्वास, धन, शक्ति र भविष्य भएकोले युवाहरुको जोस, जाँगर, आट अनि सिपले १० वर्षर्म देशको विकास गर्न सकिने बताए । उनले आफू सधै युवाहरुको साथमा रहेको बताउँदै अन्य देशका युवाहरु आफ्नो कैरियर बनाउन पट्टी लागेको अवस्थामा नेपाली युवाहरु भने आफ्नो जन्मभूमिका लागि आफूले के गर्न सकिन्छ र आफ्नो योगदान के हुन सक्छ ? भन्नेमा लागि परेको भन्दै युवाहरुको प्रशंसा गरेका थिए ।
‘देशलाई जान्न बुझ्न के गर्न सकिन्छ भन्ने युवाहरु देख्दा देशको भविष्य अव युवाको जिम्मेवारी भन्ने लाग्छ,’ सामाजिक अभियन्ता शाक्यले भने, ‘मलाई अचम्म लाग्छ यहाँ नेपाल सरकारको सचिव पद खाइसकेको मान्छे, अमेरिका, अष्ट्रेलियाका पेट्रोलपम्पमा भेटिन्छन् । त्यहाँ पुगेर विना नाम अनि पहिचान गुमनाम छन् उनीहरु ।’

सकारात्मक सोँचको अभियान बोकेर देशका विभिन्न जिल्लामा पुग्दा शाक्यले धेरै युवाहरुमा देशमा केही गर्ने हुटहुटी चलेको र देशलाई जान्न, बुझ्न अनि के गर्न सकिन्छ भन्ने उत्सुकता देख्दा आफूलाई खुसी लागेको बताए । ‘तर, एउटा समस्या युवाहरु देशमै बसेर केहीगर्न चाहान्छन्, तर उनीहरुका अभिभावक फलाना घरको फलानाले विदेश गएर यति कमायो र उति कमायो भन्दै विदेश जानैपर्ने बाध्यता र्सिजना गरेको पाइन्छ ।’ शाक्यले भने ।
शाक्यले देश, नेता, राजालगायतले विगारेको नभै हामी नेपालीको नकारात्मक सोचले नै विगारेको बताए । ‘अरुले गर्नपर्ने कुरा सबै औल्याउने हामी नेपालीले आफूले गर्नुपर्ने काम भने देख्दैनौं अनि मनन गर्दैनौं । वितृष्णा, जलन, इष्र्या मात्र बढी भएका कारण पनि देश अघि बढ्न नसकेको हो ।’ शाक्यले भने ।

त्यस्तै कार्यक्रमका अर्का अतिथि शरदचन्द्र श्रेष्ठले गण्डकी प्रदेशको कृषिमन्त्रालयमार्फत् युवालाई देशमै रोक्नका लागि आफूले कृषि अभियान चलाएको बताउँदै किसानका उत्पादन सिधै रेष्टुरेण्टहरुमा जाने व्यवस्थासहितको एप्सको पनि आवस्यकता रहेको बताए ।
उक्त एप्सको व्यवसायिक सफलताको कामना गर्दै श्रेष्ठले विदेशमा अरुको दास भएर बस्नुभन्दा आफ्नै देशमा उद्यममा लागेर धेरै गर्न सकिने बताउँदै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै अर्का अतिथि कृषिविद् तथा अग्र्यानिक इन्सपेक्टर राजेन्द्र देवकोटाले उक्त एप्समार्फत् किसानले उत्पादन गरेका अग्र्यानिक वस्तुहरुलाई रेष्टुरेण्ट सम्म पुर्याउने व्यवस्था भएमा किसानहरुको पनि जीवनस्तर माथि उकास्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक सुरेश रेग्मीले विगत ७ वर्षदेखि आफू जापानमा रहेपनि तीन वर्षदेखि देशमै केही गरौं भनेर लागि परेको बताए । दुईवर्ष अघि क्षेत्रपाटीमा कार्यालय खोलेर संचालन गरिएको स्मार्ट अनलाइन सोलुसन कम्पनीले १ वर्षदेखि बजार अध्ययन गरेर उक्त एप्सलाई अहिले पूर्णरुप दिन सकिएको बताए । स्याङ्जा पुतली बजार १ का रेग्मीले विदेशमा टेक्नोलोजीको भरपुर प्रयोग भइरहेको अवस्थामा नेपालमा पनि त्यहि अनुसार लागु गर्न सकिने उद्धेश्यले आफूहरु लागि परेको बताए । ‘केही फरक गरौं भन्ने उद्धेश्य हो हाम्रो, यसमा रेष्टुरेण्ट व्यवसायी र ग्राहकलाई जोड्ने माध्यम बन्ने उद्धेश्यले यो एप्स संचालनमा ल्याएका हौं ।’ उनका अनुसार केही समयमै देशभरीका रेष्टुरेण्टलाई उक्त एप्समा समेटिने कम्पनीको योजना रहेको छ ।
कम्पनीका संचालक मेनेजर तथा इन्जिनियर जगत ज्ञवालीको स्वागत मन्तव्य, विजया विश्वकर्माको संचालन रहेको उक्त कार्यक्रमका सभापति ध्रुव शर्माले विदेशमा रहेका साथीहरुको अनुभव र नेपालमा रहेर आफूले बुझेको माहोल सँगसँगै मिलाएर जानुपर्छ भन्ने उद्धेश्यले २ वर्ष अगाडि अनलाइन कम्पनी सुरु गरिएको बताउँदै परम्परागतलाई आधुनीक तथा व्यवसायीकतामा ढालेर पैसा र समय कसरी बचत गर्न सकिन्छ भन्ने उद्धेश्यले उक्त एप्स सञ्चालनमा ल्याएको बताए ।
शर्माले रेष्टुरेण्ट व्यवसायी र ग्राहकवीच पुलको कामको वातावरण तयार गर्ने उद्धेश्यले आफूहरुले उक्त एप्स संचालनमा ल्याएको बताउँदै दुई हजार रेष्टुरेण्टहरु एप्समा समेटिइसकेको र अबको एक वर्षमा पाँच देखि १० हजार रेष्टुरेण्टलाई एप्सभित्र समेटिने जानकारी दिए । शर्माले कम्पनीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
उनले दुई वर्षभित्रै देशभरीका सबै रेष्टुरेण्टहरुलाई समेट्ने उद्धेश्यसहित कम्पनी अगाडि बढिरहेको बताउँदै केही वर्षपछि एप्सलाई अन्तराष्ट्रियकरण गर्ने कम्पनीको योजना रहेको समेत जानकारी दिए ।

नेपालमै पहिलोपटक संचालनमा आएको उक्त ‘रेष्ट्रो मेन्यु’ नामक एप लगइन गरेपछि त्यसमा समावेश रहेका रेष्टुरेण्टका विभिन्न रेष्टुरेण्टका मेन्यु (खानाका परिकार) का बारेमा, लोकेशनको बारेमा, खानाको प्राइजका बारेमा, रेष्टुरेण्टको सम्पर्क नम्बरहरुका बारेमा तथा डेलिभरी र नन डेलिभरी रेष्टुरेण्टका बारेमा ग्राहकले जानकारी लिन सक्ने तथा घरै बसेर आफूलाई मनपरेको खानाका बारेमा तथा रेष्टुरेण्टका बारेमा जानकारी लिन सक्ने पनि कम्पनीको दावी छ । साथै ग्राहकले आफू बसेको नजिकैको रेष्टुरेण्टका बारेमा तथा देशभरी रहेका टप रेष्टुरेण्ट र नर्मल रेष्टुरेण्टका बारेमा जानकारी लिन सक्नेछन् ।
त्यस्तै उक्त एप्समा रहेका विभिन्न रेष्टुरेण्टले रेगुलर ग्राहकलाई दिने प्याकेजका रुपमा ३ महिना, ६ महिना र एकवर्षको सहुलियत छन् । जसमा डायमण्ड प्याकेज, गोल्डेन प्याकेज, सिल्भर प्याकेज र फ्रि प्याकेज समेत रहेका छन् ।
‘खाना खाँउ रोजेर, रेष्ट्रोमेनुमा खोजेर’ नारासहित संचालनमा आएको उक्त ‘रेष्ट्रो मेन्यु’ एप्सले देशभरीका रेष्टुरेण्ट व्यवसायीहरुको मार्केटिङ पार्टनरका रुपमा काम गदै अगाडि बढ्ने जनाएको छ । साथै एप्समा समावेश भएका रेष्टुरेण्टहरुका लागि आफैले कम्पनीको वेव भर्जन चलाउन पाउने, आफ्नो रेष्टुरेण्टको मेन्यु अपडेट गर्न पाउने, रेष्टुरेण्टको फोटो अपलोड गर्न पाउने तथा लोकेसन अपडेट गर्न पाउने लगायतका सुविधाहरु रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्याल, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका महासचिव एकराज अधिकारी, चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चर्चित लोक तथा आधुनिक गायक रमेशराज भट्टराई, यमलाल रेग्मी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७६ मंसिर २ सोमवार १६:४९ मा प्रकाशित






























