११ मसिंर, यमन । साउदी नेतृत्वको गठबन्धनले विभिन्न समयमा यमनबाट नियन्त्रणमा लिइएका दुई सय हुथी विद्रोही लडाकूलाई रिहा गरेको छ ।
“कैदीबन्दीहरूलाई रिहा गर्नका लागि स्वीडेनको राजधानी स्कटहोममा भएको स्टकहोम सहमतिमा टेकेर मङ्गलबार विद्रोही पक्षका २०० जनालाई रिहा गरिएको छ,” गठबन्धन सेनाका प्रवक्ता तुर्की अल मालिकीले बताए ।
“त्यस्तै व्यावसायिक उडानका लागि सन् २०१६ देखि बन्द गरिएको साना एअरपोर्टबाट उपचार आवश्यक भएमा उपचार सेवा लिन जान गठबन्धन सेनाले हुथी विद्रोहीलाई अनुमति पनि दिइनेछ,” उनले थपे ।
यमनमा स्थायी शान्ति स्थापनाका लागि राष्ट्रसङ्घको पहलमा भएका प्रयासमा यस पहिले विद्रोहीले नियन्त्रणमा लिएका करीब ३०० सैनिकलाई फिर्ता गरेको थियो । कैदीहरूको आदानप्रदानका लागि राष्ट्रसङ्घको समर्थनप्राप्त यमनी सरकारले पहललाई सकारात्मक भनेको छ ।
यमनमा युद्धरत पक्षलाई शान्तिका लागि वार्तामा ल्याउन राष्ट्रङ्घले आफ्ना विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्समार्फत साउदी अरब नेतृत्वको गठबन्धन सेना र यमनी हुथी विद्रोही विगत केही महिनादेखि पहल जारी राखेका छन् ।
वि.सं.२०७६ मंसिर ११ बुधवार ०९:५१ मा प्रकाशित





























