१४ मंसिर, तिराना । अल्बानियामा आएको भूकम्पका कारण झण्डै ५० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् ।
अल्बानियाका प्रधानमन्त्री इडी रामाले भूकम्पका कारण देश घाइते भएको टिप्पणी गर्नुभएको छ । उनले शुक्रबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको जानकारी दिनुभयो । गत मङ्गलबार आएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ । शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्यूडका पराकम्पन आउँदा थप घरहरू भत्किने तथा चर्किने क्रम जारी रहेकाले उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।
क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इञ्जिनीयर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न प्राविधिकहरुले आग्रह गरेका छन् । डुरेस र थुमानमा दुई हजार मानिस आफ्नो घरबाट अन्यत्र सरेका छन् । उनीहरु अर्काको घरमा तथा होटलहरुमा बसेको बताइएको छ । त्यसैगरी राजधानी तिरानाका पनि ३४ सय ८० मानिस अन्यत्र आश्रयस्थलमा बस्दै आएका छन् । कतिपय भने आफन्तकोमा बसेका छन् ।एएफपी
वि.सं.२०७६ मंसिर १४ शनिवार १२:४० मा प्रकाशित





























