१९ मङ्सिर, कोलम्बो । श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा शनिबार संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ ।
प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई निकै घण्टासम्म रोकिदिए ।
प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताउनुभयो । नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ ।
उहाँले संसदमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको बताउनुभयो ।
यसअघि श्रीलङ्कामा सडक मार्ग सुरक्षित बनाउन यातायात कानुन उल्लङ्घन गर्नेलाई गरिने जरिवाना ५० गुणा बनाउन राखिएको प्रस्तावको विरोध गर्ने निजी बस सञ्चालक तथा चालकसँग प्रहरीको भिडन्त भएको थियो । एएफपी
वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:५० मा प्रकाशित

























