back

टनेलमा टर्निङ्ग

वि.सं.२०७६ मंसिर २६ बिहीवार

219 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

प्रधानमन्त्री केपी शर्मा ओली गत कार्तिक ४ गते नागढुङगा –नौबिसे सडक खण्डमा सुरुङ्ग मार्गको शिलान्यास गर्दै

सतहबाट नेपालको सडकमार्ग सुरुङ्ग युगमा प्रवेश गरेको छ । कार्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङगा –नौबिसे सडक खण्डमा सुरुङ्ग मार्गको शिलन्यास गरेसँगै नेपालमा सडकमार्गको युग परिवर्तन भएको मान्न सकिन्छ ।

हुनत यसअघि पनि नेपालमा विभिन्न प्रयोजनका लागि सुरुङ्ग नखनिएको होइन । तर सडकको आधुनिकीकरण र विस्तारका लागि
नागढुङगा –नौबिसे सुरुङ्गले महत्वपूर्ण अर्थ राख्ने बताइन्छ ।

सुरुङ्ग विज्ञहरूका अनुसार हाल नेपालमा २५५ कि.मी सुरुङ्ग निर्माण भइसकेको छ । करीब ३ सय कि.मि. सुरुङ्गहरू निर्माणको चरणमा छन् । हाल बनेका यी सुरुङ्गहरू सडक यातायातका लागि भने खनिएका होइनन् । सडक यातायातका लागि वि.स. १९७४ सालमा चुरीया सुरुङ्ग मार्ग बाहेक अन्य सुरुङ्ग हालसम्म बनेको पाईंदैन । यसकारण पनि जापानी सहुलियतपूर्ण ऋण सहयोगमा बन्ने नौविसे–नागढुङगा सडक
नेपालको पहिलो सुरुङ्ग राजमार्ग बन्ने बताइएको छ ।

इतिहासमा सुरुङ्गमार्ग एक सतक पहिले तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरको कार्यकालमा भैसे भीमफेदी ५ सय मिटर लम्बाई भएको सुरुङ्गमार्ग बनेसँगै नेपालमा सुरुङ्गलाई सडकसँग जोडिएको पाइन्छ । त्यसअघि र पछि पनी साना साना सुरुङ्ग निर्माण गरिएको पाइन्छ ।
जलविद्युत्मा भने २०२४ तिर तिनाउ जलविद्युत् परियोजनाको पावर हाउसमा पानी खसाल्न पहिलोपटक सुरुङ्ग खनिएको पाइन्छ । नेपाल टनेलिङ्ग एसोसियसनका उपाध्यक्ष रामहरी शर्माका अनुसार उक्त परियोजनामा टनेल र पावर हाउस दुवै जमिन भित्र रहेका छन् ।
यसरी सुरु भएको सुरुङ्ग निर्माण प्रक्रिया कालीगण्डकी ‘ए’ र मध्यमस्र्याङ्दी जलविद्युत् परियोजना हुँदै खानेपानीका आयोजनामा समेत प्रयोग गर्न थालिएको छ । काठमाडौँ उपत्यकाबासीहरूको खानेपानी समस्या समाधान गर्न सिन्धुपाल्चोकमा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी परियोजनामा पनि सुरुङ्ग बनाइसकिएको छ ।
सुरुङ्ग विज्ञ शर्माका अनुसार २७ कि.मि लामो उक्त सुरुङ्ग हालसम्म बनेका सुरुङ्ग मध्ये सबैभन्दा लामो सुरुङ्ग हो ।
सुरुङ्ग मार्ग किन ?
पक्कै हो, सुरुङ्ग मार्ग निर्माण सतही सडक निर्माण गर्नुभन्दा महङगो पर्दछ । तर प्रविधिको विकाससँगै सुरुङ्ग बनाउनै नसकिने भन्ने पनि नभएको नागढुङगा नौविसे सुरुङ्ग मार्ग परियोजनाका प्रमुख श्यामप्रसाद खरेल बताउँछन् ।
प्रविधि र जनशक्तिका कारण सडक विभागले समयमै सुरुङ्ग मार्गमा चासो नदिएपनि अब ढिला नगर्नेमा खरेलको जोड रहेको छ । वातावरणीय हिसाबले पनि सुरुङ्ग मार्ग आवश्यक रहेको एसोशिएनसनका उपाध्यक्ष शर्माको दाबी रहेको छ । बढ्दो ग्लोबल बार्मीङ्गलाई न्यूनिकरण गर्दै विकासलाई प्रकृतिसँग जोड्न अब सुरुङ्गमार्ग निर्माणमा ढिला गर्न नहुने शर्माले बताए ।
यसैगरी सुरुङ्ग मार्गका कारण सवारी साधनहरूको खर्चमा कटौती भइ दिर्घकालमा राज्यले प्रशस्त आर्थिक प्रगती गर्न सक्ने शर्माको दाबी छ । सुरुङ्गमार्गका कारण तत्कालीन भन्दापनि दीर्घकालीन फाइदा हुने हर्माको दाबी छ । समयको बचत, उर्जाको खपतमा कमी, पार्टपूर्जाको रासकट्टीमा समेत दीर्घकालमा कमी आउने भएकोले तत्काल महँगो परेपनि नेपालका लागि सुरुङ्ग मार्ग निर्माण अपरिहार्य ठान्छन् टनेलीङ्ग एसोसिएसनका उपाध्यक्ष शर्मा ।
सुरुङ्गको लागत
सतही सडक निर्माण भन्दा सुरुङ्ग सडक निर्माण अवश्य महँगो पर्छ । सुरुङ्ग मार्ग निर्माण र सतही सडकको निर्माणमा लागतको उल्टो सम्बन्ध रहने बताइन्छ ।
सडक निर्माण सम्बन्धी इन्जिनियरहरूका अनुसार सतही सडक निर्माण कमलो माटो भएको ठाउँमा निर्माण गर्न सहज हुन्छ । तर सुरुङ्ग मार्ग निर्माण गर्न भने जति कडा चट्टान भयो त्यति सहज हुने बताइन्छ ।
इन्जिनियर शर्माका अनुसार प्रति घनमिटर सुरुङ्ग बनाउन २ सय डलर लागत लाग्दछ । शर्माले दिएको जानकारी अनुसार प्रति १ मिटर सुरुङ्ग मार्ग निर्माण गर्न १७ लाख रूपैयाँ लागत लाग्दछ ।
नयाँ बन्ने सुरुङ्ग मार्गको चौडाइ कम्तीमा १० मिटर र उचाइ आवश्यकता अनुसार बनाउन सकिने शर्माले बताए । शर्माका अनुसार सुरुङ्ग जहाँ र जस्तोसुकै स्थानमा बनाउन सकिए पनि कडा चट्टानमा सुरुङ्ग बनाउन सजिलो हुन्छ ।
कहाँ कहाँ टनेल ?
काठमाडौँ उपत्यकाको पश्चिम कुनो चन्द्रागिरी नगरपालिकाको टोटेपाखाबाट सुरु भएर धादिङ जिल्लाको सिस्ने खोला जोड्ने सुरुङ्ग मार्ग बनेसँगै देशका धेरै ठाउँमा सुरुङ्ग सम्भावना खाज्न सक्ने देखिन्छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पनि सुरुङ्ग मार्गलाई प्राथमिकता दिएको विभागले जनाएको छ । सडक विभागका प्रमुख इन्जिनियर केशवकुमार शर्माका अनुसार ‘विभागले आवश्यक ठाउँमा सुरुङ्ग निर्माणको अध्ययन थालिसकेको छ ।’
टनेलिङ्ग एशोसिएसनका उपाध्यक्ष शर्माले पनि धेरै स्थान सुरुङ्गमार्गबाट जोड्न सकिने बताउँछन् । शर्माका अनुसार पूर्वपश्चिम विद्युतीय रेल मार्गको कुल ९ सय ४५ कि.मि लम्बाइमध्ये ७३ कि.मि सुरुङ्ग नै बनाउनुपर्ने हुन्छ ।
यस्तै काठमाडौँ मेट्रो सबै स्थानमा ‘अन्डरग्राउण्ड वे’ भएकोले ‘एक्जीट/इन्ट्री’ स्थान बाहेक सबै सुरुङ्ग नै हुने शर्माको दाबी छ ।
‘ड्रिम ट्रेन’ भनेर बुझिने सिगात्से, रसुवागढी, छहरे टोखा हुँदै काठमाडौँ भित्रिने रेल मार्गमा पनि १२ स्थानमा सुरुङ्ग निर्माण गर्नुपर्ने पूर्व अध्ययनहरूले देखाएका छन् ।
यसैगरी त्रिशुली करीडोर भनिएको काठमाडौँ चीनसँग जोड्ने मुख्य सडकमा पनि सुरुङ्ग नबनाए सतही सडक असाध्यै जोखीमपूर्ण हुने टनेल इन्जिनियर शर्माले बताए ।
गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा र बागलुङलाई प्रदेश ५ को राजधानी बुटवलसँग जोड्ने पाल्पा–बुटवल सडकको सिद्धबाबामा पनि सुरुङ्ग निर्माण गर्र्र्नुपर्ने बेला भएको इन्जिनियरहरूको दाबी छ ।
यसैगरी काठमाडौं हेटौडा सुरुङ्ग मार्ग अर्को एतिहासिक सुरुङ्ग मार्ग बन्नुपर्ने सडक विभागका प्रमुख शर्मा वताउँछन ।
सुरुङ्गमा उदार बन्दै गण्डकी
गण्डकी प्रदेश देशको सबैभन्दा धेरै पर्यटकिय र जलसम्पदा भएको प्रदेश मानिन्छ । गण्डकी त्यतिकै साँस्कृतिक र प्राकृतिक विविधता भएको प्रदेश पनि हो । शायद यही भएर होला गण्डकी प्रदेश पछिल्लो समय सतही यातायातलाई भन्दा सुरुङ्ग यातायातलाई प्राथमिकता दिने मनस्थितिमा पुगेको छ ।
पहिलोपटक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कास्कीलाई हिमालय रेन्जसँग जोड्न विभिन्न स्थानमा सुरुङ्ग निर्माण गर्ने उद्घोष गरिसकेका छन् । लम्जुङबाट मनाङ र म्याग्दीबाट कोरलासम्म सुरुङ्ग बनाउन सकिने मुख्यमन्त्री गुरुङले बताएका छन् ।
त्रिविविले सुरु गर्दै टनेल इन्जीनियरीङग
नेपालमा टनेल वनेको १सय ३ वर्षपछि त्रिभुवन विश्वविद्यालयले टनेल इन्जिनियरिङ्गको अध्यापन सुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले इन्स्टीच्युट अफ इन्जिनियरिङ्ग पुल्चोक र पश्चिमाञ्चल इन्जिनियरिङ्ग कलेज पोखरामा उक्त विषय पढाइ हुने बताइएको छ। दुईवटा कलेजमा प्रति कलेज ४० जना विद्यार्थी भर्ना गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । टनेलिङ्ग अध्यापनमा गण्डकी प्रदेशले विशेष चासो देखाएको विश्वविद्यालयले बताएको छ । आउने शैक्षिक सत्रबाट नेपालमा पनि टनेलिङ्गमा बिइका कक्षा सुरु हुने त्रिविले जानकारी दिएको छ ।
नालीवेली पहिलो सुरुङ्ग मार्गको
वि.सं. १९७४ मा निर्माण सम्पन्न भएको भैसे–हेटौंडा सुरुङ्ग मार्ग बिर्गेडियर कर्नेल इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको पाइन्छ । रुडकीको थम्सन कलेजमा नेपालकै पहिलो पूर्णकालिन सिभिल इन्जिनियरिङका विद्यार्थी समेत रहेका थापालाई प्रधानमन्त्री चन्द्र शमशेर राणाले उक्त सुरुङ्ग मार्ग बनाउने आदेश दिएका थिए ।
उक्त सुरुङ्ग मार्ग काठमाडौँलाई तराईसँग जोड्ने कोसेढुङगा सडक मानिएको तत्कालिन लेखोटहरूमा पाइन्छ । एकतर्फी रुपमा गाडी वारपार गर्न सक्ने उक्त सुरुङ्ग बारेमा नेपालविद् टोनी हेगेनले समेत लेखेको तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।
मुख्यमन्त्री पौडेलले उक्त सुरुङ्गलाई ऐतिहासिक र पुरातात्विक वस्तुको रुपमा संरक्षण गरिने बताएका छन । उक्त सुरुङ्ग बनाउँदा चुरीयामाईसँग तान्त्रिक संवाद समेत गरेर उनको स्वीकृति पाएपछि मात्रै सुरुङ्ग बनाइएको स्थानीय जनश्रुति पाइन्छ ।

मेट्रो ट्रेन बाहेक सबै हावा गफ हुन्

रामहरी शर्मा, उपाध्यक्ष नेपाल टनेलिङ्ग एसोसिएसन

नेपाल सुरुङ्ग मार्गको युगमा प्रवेश गरेकै हो ?
हो, नागढुङगा सुरुङ्ग मार्गमा केही प्राविधिक कमिकमजोरी रहेपनि, यो सुरुङ्गमार्ग सम्पन्न भएपछि अब राज्यलाई पनि दबाब पर्ने निश्चित छ । हामीले लामो समयदेखि दबाब दिँदै सुरुङ्ग निर्माणमा दबाब दिँदै आएका थियौं । अहिले राज्यपनि टनेलिङ्ग प्रति सचेत बनेको छ । यसले अब नेपालको सडक विकास ‘टनेल युग’मा प्रवेश गरेको मान्न सकिन्छ ।
नेपालमा सुरुङ्ग मार्गको आवश्यकता र सम्भावना कहाँ कहाँ देख्नुहुन्छ ?
सुरुङ्ग मार्ग त जहाँ पनि बनाउन सकिन्छ । तर सुरुङ्ग मार्ग बनाउन पनि त सतहीमार्ग आबश्यक पर्दछ । नेपालमा सुरुङ्ग मार्गको आवश्यकता असाध्यै टड्कारो छ । सबै ठाउँमा यातायात सुविधा पु¥याउनु पर्नेछ जसका लागि हाम्रा पहाडहरू अवरोध बनेका छन् । यस्ता पहाडको जैविक विविधता, र वातावरणिय सन्तुलन कायम गरेर दिगो विकासका लागि सुरुङ्ग मार्ग प्रभावकारी बन्न सक्छन् ।
खर्चिलो भनेर राज्यले खासै महत्व नदिएको देखिन्छ नि ?
हो, सुरुङ्ग मार्ग सतही मार्ग भन्दा बढी खर्चिलो
हुन्छ । तर हामीले हेर्ने भनेको दीर्घकालिन लाभमा आधारित भएर हो । हामीले फ्युल, मेसिनरी पार्टपूर्जा, समयको बचत र वातावरणको ख्याल गर्ने हो भने सुरुङ्ग मार्ग ज्यादै प्रभावकारी हुन्छ । तुलनात्मक लाभ सुरुङ्गबाटै प्राप्त गर्न सकिन्छ ।
नेपालमा तत्कालै निर्माण गरिहाल्नुपर्ने सुरुङ्ग मार्गहरू कुन कुन होलान् ?
निर्माण हुँदै गरेको नागढुङगा – नौबिसे सुरुङ्ग मार्ग त अब बनिहाल्ला । यसबाहेक त्रिसुली कोरीडोरमा सुरुङ्गहरू अनिर्वाय हुन्छ । यदी चीनसँगको आयात निर्यातलाई दीर्घकालिन बनाउने हो भने यो सडकमा धेरै सुरुङ्ग बनाउनु पर्छ । यस्तै काठमाडौँ – हेटौडा सुरुङ्ग मार्ग अर्काे आवश्यकता हो । काठमाडौँ –निजगढ दूर्तमार्गमा ३ वटा सुरुङ्ग निर्माण हुन्छन् । पहिलो सुरुङ्ग ३ कि.मि र अरु २ वटा सुरुङ्ग १ दशमलव ३ कि.मिका रहेका छन् । यसैगरी विपि राजमार्गको खुर्काेट – केरावारीमा पनि सुरुङ्ग मार्ग अनिवार्य छ । मुग्लीङ्ग – चितवन सडक खण्डमा पनि बीच बीचमा सुरुङ्ग निर्माण गरे दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । काठमाडौँमा मेट्रो ट्रेन पनि सुरुङ्ग मार्गमै चल्ने रेल हो । यसरी हेर्दा नेपाललाई ‘टनेल’ ले छिटो जोड्नुपर्ने आवश्यकता छ ।
यस्तो बस्ती बीचमा काठमाडौँमा मेट्रो ट्रेन सम्भव छैन भन्छन् नि ?
यो सब सुरुङ्ग मार्गको सामान्य चेतना समेत नभएकाहरूको बकवास हो । हालको बस्तीलार्ई कुनै हानी नपु¥याइकन नै मेट्रो ट्रेनको टनेल बनाउन सकिन्छ । बस्तीको तलतलबाटै मेट्रो कुद्छ, एक्जीट र एन्ट्री स्थलमा मात्रै हामीलाई खुला ठाउँ चाहिने हो । यस्ता एक्जीट÷एन्ट्री प्याइटमा हामीले ठूला ठूला सपिङ्ग मलहरू बनाउन सक्छौ । काठमाडौँको बढ्दो ट्राफिक जाम अन्त्य गर्न मेट्रो ट्रेन आवश्यक छ । मोनो ट्रेन, स्काइ ट्रेन सबै हावा गफ हुन् । राज्यले समयमै यस्ता कुरामा ध्यान दिएर मेट्रो ट्रेनको निमार्ण तर्फ लागोस् । यसो भए काठमाडौँको जाम र वातावरण प्रदुषण दुवै घट्दछ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

धोबीखोलाको पुलमा आवागमन बन्द

धोबीखोलाको पुलमा आवागमन बन्द

काठमाडौं । काठमाडौं स्थित धोबीखोलाको पुलमा आवगमन बन्द गरिएको छ...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ कम्पनीलाई कालोसूचीमा...