१ पुस, मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् ।
उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस वर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ ।
“अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,” पुटिनले विदेशी मुलुकसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भने ।
यस बर्ष रूसमा सात वटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवद्र्धनमा थप टेवा पुगेको उनले बताए ।
यस वर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ ।
राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धिसङ्गठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकलाई प्राथमिकता दिने उल्लेख छ ।
वि.सं.२०७६ पुस १ मंगलवार ११:२२ मा प्रकाशित