३ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ ।
सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् ।
सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।कामनपाले मर्जरमा जाने सहकारीलाई तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक पाँच हजार रुपियाँ कर तिर्नुपर्छ ।
ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सङ्ख्या घट्ने छ ।बिहीबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ पुस ३ बिहीवार ०७:४५ मा प्रकाशित






























