वरिष्ठ चिकित्सक तथा सामाजिक अभियन्ता डा. अरुणा उप्रेतीले आफ्ना बालबालिकाको स्वास्थ्य मजबुत राख्नका लागि अभिभावकलाई यस्तो सुझाव दिएकी छन् ।
डा. उप्रेतीका अनुसार अभिभावकले बालबालिकालाई खुसी बनाउनका लागि पैसा दिएर चाउचाउ, कुमुर्रे, विस्कुट लगायतका बजारीया खाना (डा. उप्रेतीको भाषामा ‘पत्रु खाना’) किन्न उक्साउँछन् । तर, आमाबाबुको एकछिनको अल्छिपनले छोराछोरी कुपोषित भइ विरामी हुने गर्छन् ।
‘एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन् । बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ । त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस ।’ डा. उप्रेती भन्छिन् ।
डा. उप्रेतीले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छन्
अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ । मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ ।
तर, अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ । स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन् । त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ ।
पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन् । तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन् । यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख । एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन् । बिरामी भएपछि औषधि-उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ । त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस ।
पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय-समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन । अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन् । आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन् ।
बालबालिकालाई खाजाका रूपमा दिइने बिस्कुट, पेय पदार्थ आदि दिँदा उनीहरूको शरीरमा चाहिनेभन्दा बढी चिनी जम्मा हुन्छ । चिनी धेरै भएको चिसो पदार्थले मानव शरीरको हड्डी कमजोर पार्ने तथा क्यान्सरसमेत गराउन सक्ने भनेर अध्ययनले देखाएको छ । ठूला बट्टामा राखिएको फलफूलको रस राम्रोे ठानेर बालबालिका धेरै पिउँछन् । यस्तो रसमा धेरै चिनी र फलफूलको रस नकुहियोस् भनेर रसायन हालिएको हुन्छ । यसले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ । यसले कुपोषण गराउँछ ।
हामीसँग स्वस्थकर पेय पदार्थ पनि पर्याप्त छन्, जस्तै ः कागती र पुदिना हालेको सर्बत, कागती हालेको चिया, दही, लस्सी, बेलको सर्बत, कागती र मह हालेको पानी आदि । यस्तो पेय पदार्थ घरमै सजिलोसँग बनाउन सकिन्छ । पैसा पनि कम पर्छ । अमला, अम्बा, हलुवावेद आदि सस्तो पर्छन् भने यिनमा भिटामिन ‘सी’ पनि पर्याप्त हुन्छ । जसले शरीरमा रोगसँग लड्ने शक्ति त बढाउँछ नै, साथै यस्ता फलफूलमा पानी पनि हुनाले कब्जियत हुन दिँदैन ।
अचेल धेरै बालबालिकाले पत्रु खाना खाने हुनाले उनीहरूलाई कब्जियत हुने गरेको पाइन्छ । कब्जियत भएपछि पेट ढुस्स हुने, खाना खान मन नलाग्ने, वाकवाकी आउने, टाउको दुख्ने हुन्छ । साथै दिसा गर्दा कन्नुपर्ने हुँदा बाबसिर हुन सक्छ । यस्तो समस्या भएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसले गर्दा झन् धेरै समस्या र रोग थपिन सक्छन् । त्यसैले कब्जियतै हुन नदिन चोकर भएका खानेकुरा जस्तो : गहुँको आँटा, जौ आदि र रेसादार पदार्थ भएका खाना जस्तो ः हरिया तरकारी, भटमास, बोडी, स्कुस, लौका, मकै आदि खानुपर्छ, बालबालिकालाई दिनुपर्छ। बच्चाहरूले हरिया तरकारी खाँदैनन् भन्ने आमा–बुबालाई म भन्छु-बालबालिकालाई बिस्तारै यस्ता हरिया तरकारीको स्वाद चखाउनुको अर्थ हो, उनीहरूलाई राम्रो संस्कार दिनु ।
‘शक्ति बढाउने खाना’ भनेर अनेक किसिमका खानेकुराका बट्टामा लेखिएका हुन्छन् । गाउँघरमा कतिपय अभिभावकले आफ्ना बच्चाको स्वास्थ्य राम्रो होस् भनेर आफ्नै खेतबारीमा उब्जिएका कोदो, फापर, मकै, गहुँ, आलु बेचेर हर्लिक्स, बोनभिटा, बुस्ट, भिभा आदि किन्छन् ।
वास्तवमा उनीहरू टिभी र रेडियोमा आएका भ्रामक विज्ञापनको प्रभावमा पर्छन् । हर्लिक्स, बोनभिटा, कम्प्लानले ‘बालबालिकाको बुद्घि र उचाइ बढाउँछ’ भन्ने गलत विज्ञापन दिइएको हुन्छ ।
यस्ता वस्तुहरू जौ, गहुँ, चिनी, दूध आदिबाट बनाइएका हुन्छन् र सिसीमा हालेर अति नै महँगो भाउमा बेचिन्छन् । हर्लिक्स बनाउने संस्थाले बेलायतमा यसरी गलत तरिकाले विज्ञापन गर्न पाउँदैन । तर नेपाल र भारतजस्ता देशमा भने हर्लिक्सले जथाभावी विज्ञापन गर्छ । यसले गर्दा मानिसमा भ्रम फैलिन्छ । शक्ति दिने भनेर जुन वस्तुको बढी विज्ञापन गरिन्छ, त्यो वस्तु त्यति नै काम नलाग्ने हुन्छ । पहिले–पहिले चुरोट खाँदा शक्ति बढ्छ भन्ने विज्ञापन आउँथ्यो। तर चुरोटले त शरीरमा हानि मात्र गर्छ। त्यसरी नै चाउचाउ, कुरकुरे, चिजबलले शरीरमा हानि मात्र गर्छन् भनेर बुझ्न जरुरी छ ।
वि.सं.२०७६ पुस १४ सोमवार १०:०५ मा प्रकाशित




























