१६ पुष, काठमाण्डौं । झण्डै दुईसाता देखि राजधानीमा आफ्ना माग राख्दै धर्ना बसेका सर्लाहीका उखु किसानप्रति अष्ट ज अभियानले ऐक्यबद्धता जनाएको छ ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराई, अभियन्ता प्रकाश नेपाल, चन्द्र पौडेल, सत्येन्द्र दंगाल, फर्शुराम भुर्तेल, चन्दा थापा लगायतका अभियन्ताले उखु किसानहरु रहेको धर्नास्थल माइतीघर मण्डलामा पुगेर बुधबार उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

उक्त अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले किसान र सरकारको आजको वार्ता सकारात्मक नभए किसानको आन्दोलनमा आफूहरु पनि मण्डलामा आएर किसानसँगै धर्नामा बस्ने बताएका छन् ।

अभियानले उखु किसानका समस्या समाधान र उनीहरुको रकम भुक्तानीका लागि सरकारले तत्काल तदारुकता देखाओस् भन्ने आसयसहितको ऐक्यबद्धता पत्र किसानलाई बुझाउँदै अध्यक्ष भट्टराईले भने, ‘हामी तपाईहरुको साथमा छौं, सरकारले उखु किसानको समस्याको तत्काल समाधान निकालेर उद्योगीहरुबाट किसानको भुत्तानी तत्काल गराओस् वा त्यो सम्भव नभए सरकारले यसको जिम्मा लेओस् ।’

झण्डै पाँचवर्षदेखि चिनी उद्योगीबाट उँखुको भुक्तानी नपाएका सर्लाही क्षेत्र नं ४ का किसानहरुले झण्डै दुईसातादेखि चिसो शहर राजधानी काठमाण्डौंको माइतीघर मण्डलामा बसेर आफ्ना मागहरुसहित धर्नामा बसेका छन् ।
सर्लाही क्षेत्र नं ४ का झण्डै ९ हजार किसानको उँखु खरिद गरेर चिनी उद्योगीहरुले भुक्तानी नदिएको गुनासो आन्दोलनमा सहभागी बविता मिश्रले गरिन् । ‘पहिले चिनी मिलमा धर्ना बस्यौं, त्यसपछि जिल्लामा र जिल्लाले पनि नसुनेपछि हामी काठमाण्डौंमा आइपुगेका हौं । नौ हजार किसानको बक्यौता बाँकी छ ।’
उनले भनिन् ‘यो पहिलो चरणको आन्दोलन हो, सरकारले हाम्रो माग नसुनेमा हामी सबै किसान काठमाण्डौंमा उत्रन्छौं ।’

तस्बिर : फर्शुराम भुर्तेल
वि.सं.२०७६ पुस १६ बुधवार १७:५५ मा प्रकाशित






























