“मेलमिलाप भनेको राजासँग मेलमिलाप हो । यो मेलमिलापको मुख्य आधार नै राजालाई प्रजातान्त्रिक पक्षमा ल्याउनु हो । यो पञ्चायतको फन्दाबाट राजालाई मुक्त गर्नु हो । ”
बी.पी. गणेशमान सिंह आफ्ना सहयोगीहरूका साथ स्वदेश फिर्ता भएपछि राष्ट्रिय मेलमिलापको आग्रहले राजा प्रभाबित भएमा आफ्नो एकाधिकार समाप्त हुने चिन्ताले यहाँका ठूला पञ्च र दरबारियाहरूमा ठूलो खलबली मच्चियो । २६ जनवरी १९७७ इ. मा पोखरामा आयोजित एक पञ्च ¥यालीलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले– ‘देशद्रोही र राजद्रोही’ बी.पी. कोइरालालाई कानून बमोजिम कडा कारबाही गरिने जानकारी गराए । त्यसैदिन न्याय तथा कानुन मन्त्रालयले बी.पी र उनका सहयोगीहरू उपर राजकाज अपराध ऐन अन्तर्गत दायर भएका बिभिन्न मुद्दाहरूको किनारा लगाउन एक सदस्यीय विशेष अदालत गठन गरिएको उल्लेख ग¥यो ।
बी.पी लाई मलंगवा गोलीकाण्ड, धरान प्रहरी व्यारेकको बमकाण्ड, सशस्त्र क्रान्ति गरी पञ्चायत पल्टाउन खोजेको, झापा धुलाबारीमा हतियार जम्मा गरेको, स्पिट फायर भन्ने पत्रिकामा श्री ५ विरोधी मन्तव्य प्रकाशित गरेको, स्याङ्ग्जा जिल्लामा हतियार पठाएर राष्ट्र विप्लवको षड्यन्त्र रचेको र ओखलढुंगा गोलीकाण्ड समेत हरेक मुद्दामा सर्वस्वहरण, जन्मकैद या प्राणदण्ड हुन सक्ने मुद्दाहरू दायर थिए । यी अभियोगहरूमा २०३४ साल वैशाख १७ गतेदेखि जेठ ४ गतेसम्म विशेष अदालत समक्ष उपस्थित भएर बी.पी.ले निर्भिक भएर आफ्नो बयान दिए । उनले अदालत समक्ष “म नेपाली कांग्रेसको अध्यक्ष भएकाले नेपाली कांग्रेसले गरेको सबै कामका लागि मेरो नैतिक जबाफदेही छ” भन्ने कुरा इमान्दारीपूर्वक सकार गरे । विशेष अदालतमा उनले दिएको बयान एउटा उच्चतम राजनीतिक साहित्य मानिएको छ । उनले २०३४ साल वैशाख ११ गते दिएको बयानको एउटा सानो अंश उदाहरणको लागि यहाँ उधृत गरिएको छ ।
“२०१७ सालमा अन्यायको बिजारोपण भएको थियो । सरकारी स्तरबाट भएको अन्यायले मानिसको मनमा न्याय, ऐन, कानूनप्रति उदासिनता र कतै–कतै विरोध र विद्रोहको भावना उठ्नु एकदम स्वभाविक छ । यो सार्वभौमिक नियम हो जसलाई हामी इतिहासको हरेक पानामा दर्ता भएको पाउँछौं । यस्तो हुनु मानिसको प्राकृतिक स्वभावको लक्षण हो । न्यायको न्यायकर्ताबाट नै उल्लंघन भएपछि न्यायको कसले मर्यादा राख्छ ? गंगोत्रीको जल दूषित भएपछि त्यसको पवित्रता कहाँ रहन्छ ? न्यायको उद्गमस्थलमा नै त्यो अमर्यादित भएपछि देशमा केवल पशुबल र स्थूलशक्तिको आधारमा जंगली नियमको बोलाबाला हुन जान्छ । राज्यको सर्वप्रथम मौलिक उद्येश्य न्याय स्थापना हो । न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ । त्यसपछि आदर्शविहीन राज्यको एक–एक गरेर संस्थाहरू र शासनका विभिन्न विभागहरू भ्रष्ट हुँदै जान्छन् । पल्टन राज्यको सुरक्षा गर्ने आदर्शबाट च्यूत भएर जनताका उपरको आतंकको र राजनैतिक विरोधीहरूको विरुद्ध प्रयोग हुने एउटा यन्त्र हुन पुग्छ । र पुलिस दमनको साधन । निजामती सेवा भरौटेहरूको क्लब । यस स्थितिमा यदि कोही इमान्दार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यसले दोषको भागी हुनुपर्छ । मैले क्रान्तिको नारा दिएको हुँ । विरोधको कुनै शान्तिपूर्ण वैधानिक उपाय नभएर क्रान्तिको सिद्धान्तलाई अपनाउनु परेको हो । ”
यसप्रकार बी.पी. कोइराला माथि विशेष अदालतमा सातवटा संगीन मुद्दाहरु चलिरहेका थिए भने अर्कोतर्फ पञ्चहरू व्यक्तिगत र सामूहिक रुपमा पञ्चभेलाको माध्यमबाट वा वक्तव्यबाजी गरेर बी.पी. कोइरालालाई कडाभन्दा कडा सजाँय दिइयोस् भन्ने माग गरिरहेका थिए । पञ्चायती संविधान अनुसार नै पनि अदालतमा बिचाराधीन रहेको मुद्दालाई प्रभाव पार्ने उद्देश्यले सार्वजनिक रुपमा कुनै मत व्यक्त गर्न पाइदैनथ्यो । तर पञ्चहरू खुलेयाम अदालतकै मानहानी गरिरहेका थिए ।
बी.पी.ले राष्ट्रिय मेलमिलापको आग्रहलाई स्पष्टरूपमा अगडि राखेका थिए । उनका अनुसार “मेलमिलाप भनेको राजासँग मेलमिलाप हो । यो मेलमिलापको मुख्य आधार नै राजालाई प्रजातान्त्रिक पक्षमा ल्याउनु हो । यो पञ्चायतको फन्दाबाट राजालाई मुक्त गर्नु हो । ”
निर्दलीय पञ्चायतका समर्थक तथा प्रजातन्त्र विरोधी तत्वहरू बी.पी. लाई कडा भन्दा कडा सजाँय यहाँसम्म कि फाँसीको सजाँय दिने माग गरिरहेका थिए । राजाले असहिष्णुता नदेखाउलान् भन्ने बी.पी. को विश्वास थियो तर यस्तो विश्वासबाट भूतकालमा अनेक पटक धोका भएको हुनाले बी.पी को सुरक्षालाई लिएर देश विदेशमा ठूलो चिन्ता देखाइन थाल्यो ।
(समाचार स्रोत : डा सूर्यमणि अधिकारीको ‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास’ पुस्तकबाट )
वि.सं.२०७६ पुस १७ बिहीवार ०८:४८ मा प्रकाशित






























