२४ पुष, फ्रान्स। नेपाली जनसम्पर्क समिति फ्रान्सले ४४ औं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
फ्रान्सको औबर्भिलीय सहरस्थित कामरान रेस्टुराँमा ५ जनवरीमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्समा जारि यातायात हड्तालका बावजुद पनि उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।
२०३३ साल पौष १६ गते नेपाली कांग्रेसका नेता विशेस्वरप्रसाद कोइराला ८ बर्ष भारतको निर्वासनबाट राष्ट्रिय मेलमिलाप नीति सहित नेपाल फर्किएको उक्त दिनको सम्झनामा मनाइदै आएको मेलमिलाप दिवस कार्यक्रममा अंग्रेजी नयाँ बर्षको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
नेपाली दूतावास फ्रान्सका राजदूत दीपक अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त चियापान कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सुधिर रानाले गरेका थिए भने फ्रान्सस्थित क्रियाशील सबै सामाजिक संघसंस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।
जननेता बि. पी.को फोटो अगाडी दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष इन्द्र बस्नेतले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि राजदूत अधिकारीले बिपी राजनेता मात्र नभई कुशल साहित्यकार पनि भएको र उनको साहित्यले नेपाली समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको कुरा बताएका थिए ।
कार्यक्रममा बक्ताहरुले बिपीले लिएको नीति आजको दिनमा पनि उपयोगी रहेको र राष्ट्र संकटमा परेको बेला आन्तरिक शक्तिहरुको एकताको विकल्प नरहेको कुरा समेत राखेका थिए ।
मन्तब्यका क्रममा जनसम्पर्क समिति फ्रान्सका संरक्षक किरण चन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल, समितिका सल्लाहकार सुवर्ण हमाल, एन. आर. एन. ए. फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, एन. आर. एन. ए. फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल,प्रवासी नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, तमु समाजका उपाध्यक्ष लव्सन गुरुङ, गोर्खा समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली रक्तदाता संघ फ्रान्सका अध्यक्ष अनीश त्रिपाठी, पाकोफेन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान लगायतका बक्ताहरुले बिपीको नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गरेका थिए ।
समितिका महामन्त्री कमल बिक्रम केसी.द्वारा संचालित कार्यक्रममा जनसम्पर्क समितिले २०१९ मा नेपालमा शिक्षाको क्षेत्रमा गरेको सहयोगको जानकारी सहित २०२० मा चेपांग बस्तीको बिद्यालयमा केहि थान कम्प्युटर र प्रिन्टर सहयोग गर्ने योजना घोषणा गरिएको थियो । साथै समितिको पूर्णताको लागि सुजन राज भट्ट र बिराज मल्ललाइ कार्यसमिति सदस्य मनोनयन पत्रसंगै स्वागत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा स्वादिष्ठ समोसा, चियाको लागि र हल उपलब्ध गरिदिएकोमा कामरान रेस्टुराँलाइ धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई सभापतिले धन्यबाद दिएसंगै कार्यक्रम समापन गरिएको थियो ।
वि.सं.२०७६ पुस २४ बिहीवार १६:५४ मा प्रकाशित






























