नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने ठोस निर्णय गर्न सकेको छैन । नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा लामो समयसम्म संसद् बैठक बस्न सकेको छैन । पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजेलाई डाकिएको छ ।
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नै अडान नछोडेकोले पनि नेकपालाई सभामुख छनौट फलामको चिउरा चपाएसरी भएको छ । सभामुख अनुभवी चाहिने भन्दै ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने बताउँदै आएका छन् । यता अर्का अध्यक्ष प्रचण्ड भने पूर्व माओवादीको भागमा रहेको सभामुख पद पूर्व माओवादीले नै पाउनुपर्ने भन्दै अग्नी सापकोटालाई अघि सारेका छन् । यता राष्ट्रपति विद्या भण्डारीले पनि उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउन दवाब दिँदै आएको स्रोतको दाबी छ । ओली, प्रचण्ड र राष्ट्रपतिको आ आफ्नै अडानले गर्दा लामो समयसम्म नेकपाले सभामुख छान्न सकेको छैन ।
प्रचण्ड र माधवको यस्तो आशंका
राष्ट्रपतिलाई उपसभामुखको पक्षमा उभ्याएर ओलीले नेम्वाङले सभामुख पद नपाउने अवस्थामा राष्ट्रपतिको दबाब निम्त्याएर भए पनि पूर्वएमालेबाटै तुम्बाहाङ्फलाई नै सभामुख बनाउन चाहेको प्रचण्ड माधवकुमार नेपालको बुझाई रहेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीकै आडमा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका प्रचण्ड र नेपालले विकल्पमाथि छलफल गरेका छन् । तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् ।
उपसभामुखलाई राजीनामा नदिन भित्री रुपमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले पूर्वमाओवादीबाट सभामुखको दावेदारी हुने बाटो थुनिदिएका छन् । अन्तमा मैले चाहेको नेम्वाङ पनि नहुने हो भने तपाईले चाहेको अग्नी सापकोटा पनि हुँदैन, उपसभामुखलाई नै सभामुख बनाउ भन्ने प्रस्ताव ओलीले गर्न चाहेको उनका गतिविधीले प्रष्ट पार्छ ।
ओलीको यहि चतुर्याई बुझेर प्रचण्डले नेपाल लगायतका नेताहरुसँग परामर्श गरिरहेका छन् । ओलीको चाहना कुनैपनि हालतले पूरा हुन नदिन नै प्रचण्डले यसअघि नै तपाईले चाहेकै व्याक्तिलाई सभामुख बनाउने हो भने प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका थिए । प्रधानमन्त्री पाउने भएमात्र पूर्वमाओवादीले सभामुख छोड्न सक्ने भन्दै ओलीलाई प्रचण्डले सभामुख कुनै पनि हालतमा नछोड्ने संकेत दिइसकेका छन् ।
उम्मेदवार यकिन नभई राजीनामा दिन्नः उपसभामुख
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेकपाले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गरेकी छिन् । सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन, उनले भनिन् ।
उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेकी छिन् । अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।’
‘प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वा्चित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको स्मरण गर्दै उनले भनिन्, ‘मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिएँ ।’
अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले भनिन्, ‘दलले उम्मेदवार अझै अघि बढाएका छैनन्, दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढछ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ ।’
उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्ने बताइन् ।
वि.सं.२०७६ माघ १ बुधवार १७:०६ मा प्रकाशित






























