१ माघ, अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई सभामुख बन्नबाट रोक्न खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापा मगरले एक विज्ञप्ति जारी गरेर नेकपाका नेतृत्वलाई यस विषयमा सजग रहन समेत अनुरोध गरेको छ ।
महासंघले वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नेपाली महिला आन्दोलन मात्र नभई नेपाली विद्यार्थी आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा सदैव अग्रणीस्थानमा उभिएर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको बताउँदै पार्टीभित्रै उनीमाथि राजीनामा दिनका लागि दवाव दिइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपालको प्रतिनिधिसभाले एक सक्षम, योग्य,महिला, आदिवासी महिला नेतृत्व पाएको छ यसको राज्यले, दलहरूले सदुपयोग गर्नुपर्छ, र उहाँलाई अवसर दिनु पर्दछ,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोद्यार्थ गरिएको जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण प्रतिनिधीसभाको सभामुखमा डा. शिवमाया तुम्बाहाम्फेलाई बन्नबाट रोक्न खोजिएको विषयमा हाम्रो आम चासो र ध्यानाकर्षण भएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व लाई यसप्रती सजग रहन पनि अनुरोध गर्दछौ ।’

वि.सं.२०७६ माघ १ बुधवार १६:५४ मा प्रकाशित






























