नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग दूतावास परिसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। दूतावासले नेपाली संघसंस्थाहरूसँग गत वर्षदेखि आयोजना गर्दै आएको छलफल कार्यक्रमको यो दोस्रो श्रृङ्खला हो। कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा आफ्नो स्वागत मन्तव्य राख्दै राजदूत सेवा लम्सालले बेल्जियममा नेपाली समुदायको सशक्त उपस्थितिलाई नेपालको एक महत्त्वपूर्ण आर्थिक, सामाजिक सार्मथ्य तथा पूँजीको रूपमा उल्लेख गरिन् । उनले नेपाली डायस्पोराको ज्ञान, सीप, अनुभव, पूँजी तथा सञ्जाललाई नेपाल र नेपालीको राष्ट्रिय हित, आर्थिक विकास तथा समृद्धिको प्रवर्द्धनमा प्रभावकारी रूपमा परिचालन गर्न सकिने सम्भावनाबारे विस्तृत रूपमा चर्चा गरिन् ।
राजदूत लम्सालले नेपालको आर्थिक विकासमा विदेशमा रहेका नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै हालै संशोधन गरिएको वैदेशिक रोजगार ऐन तथा प्रोत्साहन का नीतिहरूबारे समेत प्रकाश पार्नुभयो। उनले नेपालको विदेशी विनिमय आर्जनमा रेमिट्यान्सको योगदानले डायस्पोरा नै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको स्पष्ट पारिन।
यसका लागि राजदूतावास र नेपाली संघसंस्थाबीच नियमित संवाद, समन्वय र सहकार्यलाई थप सुदृढ गर्न आवश्यक रहेको जोड दिँदै आगामी दिनमा पनि नेपाली संघसंस्थाहरूसँग नियमित रूपमा अन्तर्क्रिया तथा सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरिन् ।
उनले नेपालको वर्तमान आर्थिक अवस्था, लगानीको सम्भावना, र सरकारले ल्याएको ‘नेपाल लगानी अभियान’ बारे समेत जानकारी गराउँदै डायस्पोरालाई स्वदेशमा लगानी गर्न आग्रह गरिन् । सो अवसरमा कोरोनापछिको आर्थिक पुनरुत्थान, पर्यटन प्रवर्द्धन तथा जलविद्युत् क्षेत्रमा देखिएका नयाँ अवसरहरूबारे समेत विस्तृत छलफल भएको थियो।
कार्यक्रममा नेपाली राजदूतावास तथा नेपाली संघसंस्थाबीचको सहकार्यमा सञ्चालन गर्न सकिने विभिन्न कार्यक्रम तथा गतिविधिहरू, बेल्जियमस्थित नेपाली व्यवसायी तथा संघसंस्थाको सहभागितामा नेपालमा वैदेशिक लगानी प्रवर्द्धन तथा विस्तार गर्न सकिने सम्भावित उपायहरू, बेल्जियमको श्रम बजारमा नेपाली जनशक्तिको पहुँच तथा सहभागिता विस्तार गर्न आवश्यक पहलहरू, चालु आर्थिक वर्ष २०८३र८४ मा सम्बन्धित संघसंस्थाहरूले नेपाल तथा बेल्जियममा आयोजना गर्ने प्रस्तावित वार्षिक कार्यक्रमहरू तथा राजदूतावासका सेवा प्रवाह एवं कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सकिने उपायहरूसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
सहभागी संघसंस्थाका प्रतिनिधिहरूले बेल्जियममा नेपाली समुदायले सामना गरिरहेका समस्या तथा चुनौतीहरू, दूतावासका सेवाहरूको सहज पहुँच, कन्सुलर सेवाहरूको सुधार, तथा नागरिकता, वंशज, राहदानी लगायतका विषयमा आ(आफ्ना धारणा राखेका थिए । सहभागीहरूले राजदूतावासले डायस्पोरासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन पहल गरेकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने र छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त जनाइन् ।
राजदूत लम्सालले छलफलक्रममा उठेका सबै विषयहरूलाई सम्बोधन गर्दै नेपाल र बेल्जियमबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन र विस्तार गर्न संघसंस्थाहरूसँग निकट सहकार्य गर्दै जाने कुरामा जोड दिइन् । बेल्जियम युरोपेली संघको मुख्यालय रहेको देश भएकोले यहाँबाट सम्पूर्ण युरोपेली बजारमा पहुँच स्थापित गर्न सकिने व्यापारिक सम्भावनाबारे पनि उनले चर्चा गरिन्।
उनले भनिन् ‘विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, अनुभव र सञ्जाललाई नेपालसँग जोड्न सके त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। यसका लागि सरकार, दूतावास, निजी क्षेत्र र प्रवासी नेपाली संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ।”
नेपाली कृषिजन्य उत्पादन, चिया, कफी, अलैंची, जडीबुटी तथा हस्तकला लगायतका वस्तुहरूको बेल्जियम तथा युरोपेली बजारमा प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत राजदूत लम्सालले व्यक्त गरिन्। उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप बनाउन आवश्यक सहयोग गर्ने र यसका लागि संघसंस्थाहरूसँग सहकार्य गर्ने बताइन् ।
साथै उनले सहभागी सबै संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने र भविष्यमा समेत यस्ता अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गर्दै नेपाली संघसंस्था तथा समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बेल्जियमस्थित मुख्य नेपाली संघसंस्थाहरूमा नेपाली समाज बेल्जियम (एनएसबी), नेपाली महिला संघ बेल्जियम, एनआरएनए बेल्जियम, नेपाली युवा परिषद् बेल्जियम, नेपाली सांस्कृतिक केन्द्र ब्रसेल्स, गोरखा समाज बेल्जियम, नेपाली छात्र संघ बेल्जियमलगायत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको दूतावासले जनाएको छ।
वि.सं.२०८३ साउन २६ मंगलवार १४:४५ मा प्रकाशित






























