२ माघ, युएई । युएईमा कामदार बोकेको बस दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहिबार बिहान साढे पाँच भएको उक्त दुर्घटनामा नेपाली महिला कामदार सहित अन्य देशका कामदार चढेको बस लरीसँग ठक्कर खाँदा पाँचजना महिलाको ज्यान गएको समाचार प्राप्त भएको छ । तर ती महिला को हुन् भनेर पहिचान भने भइनसकेको नेपाली दूतावास युएईले जनाएको छ ।
युएईको एमबीएम क्लिनिङ कम्पनीमा कार्यरत २४ जना श्रमिक महिला बोकेको बस दुर्घटना हुँदा पाँचको मृत्यु भएको र अन्य घाईतेको युएईको आवुधाविस्थित माफ्राक अस्पताल, अलराह अस्पताल र एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली दूतावास युएईका अनुसार बसमा रहेका २४ जना श्रमिक मध्ये १८ जना नेपाली रहेका थिए भने अफ्रिकन र श्रीलंका लगायतका देशका नागरिक रहेको बताइएको छ ।
सवारी दुर्घटनामा नेपाली श्रमिक परेको जानकारी पाएलगत्तै राजदूत कृष्ण प्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सीलर भेष बहादुर कार्की लगायतको टिम अस्पतालमा पुगेको पनि युएईबाट पत्रकार उमाकान्त पाण्डेले संसारन्युजलाई बताएका छन् ।
राजदूत ढकालले घाईतेहरुलाई भेट गर्नुका साथै कम्पनीका अपरेसन म्यानेजरलाई पनि भेटेर कुराकानी गरेको तथा ट्रमा सेन्टरका डाक्टरलाई भेटेर उपचारमा कुनै कमि नराख्न अनुरोध समेत गरेका छन् ।
वि.सं.२०७६ माघ २ बिहीवार १७:१० मा प्रकाशित






























