९ माघ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पिजडाँमा फसेको बुढो बाघको संज्ञा दिएका छन् । भट्टराईले बिहीबार एक ट्वीट गर्दै प्रचण्ड ओलीको पिंजडाभित्र छटपटाइरहेको उल्लेख गरेका हुन् ।
बुधबार खुमलटारमा प्रचण्डले समाजवादी पार्टीमा बाबुराम भट्टराई र अशोक राई निरीह भएर बसेको टिप्पणी गरेका थिए। समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन भट्टराईलाई आग्रह गरेका थिए ।
प्रचण्डको सो टिप्पणीमाथि जवाफ दिँदै बाबुरामले लेखेका छन्-‘पञ्चतन्त्रको कंकड़ लुब्ध पान्थ कथामा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्, आफैं त महादेव उत्तानो टाँग; कस्लाई दिने वर ?’

वि.सं.२०७६ माघ ९ बिहीवार १३:३८ मा प्रकाशित





























