भोलि अर्थात् माघ ११ गते माघ शुक्लपक्ष प्रतिपदा शनिबार सोनाम ल्होछार परेको छ । सोनाम ल्होछार, नेपालको मध्य पहाडी क्षेत्रमा बसोवास गर्दै आएको तामाङ जातिको मुख्य चाड हो । ‘सोनाम लोसार’ योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।
लोसार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषाहरूमा ‘लो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल’ भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार ‘लो’ अर्थात वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ । उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
। नेपालमा लोसार मनाउने प्रचलन चिनियाँ सभ्यताबाट तिब्बत हुँदै भित्रिएको अनुमान गरिन्छ। मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । यो २८५६औँ सोनाम ल्होछार हो। नयाँ वर्षको स्वागतमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गर्नुको साथै छोरीचेलीलाई निम्त्याएर टीका प्रसाद दिने प्रचलन छ ।
तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होसारका दिन यस समूदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । घरआँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । परम्परागत पहिरनमा सजिएका तामाङ समूदाय एकै ठाउँमा भेला भई नाचगान रमाईलो गर्दछन् । काठमाण्डौमा रहेका तामाङसमुदाय टुँडिखेलमा भेला भई रमाइलो गरी मनाउने गर्दछन् ।
नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ एक प्रमुख जाति हो। नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८५ रहेको पाइन्छ ।
तामाङ जाति बौद्ध धर्म मान्दछन् । तामाङहरूले आफ्नो विभिन्न चाडपर्वमा बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआज गर्दछन् । तामाङहरू बौद्ध धर्मको महायानी सम्प्रदायभित्र पर्दछन् । तामाङ समाजमा प्रत्येक वर्षलाई एउटा एउटा जीवले प्रतिनिधित्व गरेको हुन्छ । ल्हो परम्पराको आधारमा उमेरको गणना गर्ने र आफ्नो बालबच्चाको ल्हो राख्ने परम्परा रहँदै आएको छ ।
यस जातिको मुख्य बसोबास क्षेत्र काठमाडौं उपत्यका र यसको आसपासका जिल्लाहरू रसुवा, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली हो । साथै मुलुकका विभिन्न क्षेत्रमा तामाङहरूको बसोबास रहेको छ ।
वि.सं.२०७६ माघ १० शुक्रवार १२:१२ मा प्रकाशित






























