back
CTIZAN AD

रूसी नागरिक आनास्तासियालोझ्किनालाई बौद्धदर्शनमा विद्यावारिधिको उपाधि

वि.सं.२०७६ माघ १५ बुधवार

633 

shares

रूसीविदुषी रूस विज्ञान प्रज्ञा प्रतिष्ठान दर्शनशास्त्र संस्थानमा रूसी युवा विदुषी आनास्तासियालो झ्किनाद्वारा विद्यावारिधि प्राज्ञिक उपाधिका लागि ‘पाली वाङ्मयको संरचनामा दार्शनिक–धार्मिक वादविवादको रूपमा ‘पुद्गल–स्वत्वबारे वार्तालाप’ (‘कथावत्थु १.१’) शीर्षकमा तयार पारिएको दर्शनशास्त्रको इतिहास विषयक शोधग्रन्थको पुर्पक्षका लागि २१ जनवरी २०२० (मङ्गलवार) का दिन विद्वत् परिषदको बैठक बोलाइएको थियो । त्यस पुर्पक्षको एक पर्यवेक्षकको रूपमा यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को पनि उपस्थिति रहेको थियो ।

पूर्वनिर्धारित समय अनुसार दिउँसो ठीक ३ बजे विद्वत् परिषद्की सचिवएन. भोल्कोभाबाट विधिवत् बैठक संचालनका लागि आवश्यक कागजातसहित सबै तैयारी पूरा भएको सूचना दिनासाथ विद्वत् परिषदकी अध्यक्ष, हेगेलको दर्शनशास्त्रकी विज्ञ, प्रोफेसर नेल्ली मोत्रोसिएभाले बैठक संचालन गरेकी थिइन् । सर्वप्रथम आवश्यक अनुसन्धान पूरा गरेर शोधग्रन्थ पेश गर्ने आनास्तासियालो झ्किनाले प्राचीन बौद्धदर्शनमा ‘स्वत्व’ लाई स्वीकार्ने पुद्गलवादी तथा ‘स्वत्व’ को नकार गर्ने थेरावादी सम्प्रदायका दुई प्रतिनिधिबीच तर्कवितर्कको रूपमा गरिएको वादविवाद अभिलेख गरिएको प्राचीनतम बौद्ध दर्शन प्रतिबिम्बित मूल पालीग्रन्थ ‘पुद्गल–कथा’ को रूसीभाषामाअनुवाद समेतगरेर शोधखोजद्वारा तयार पारिएको शोधग्रन्थको सारसंक्षेपसहित त्यसको समसामयिकता तथा औचित्यको समेत सारगर्भित तर स्पष्ट भाषामा पुष्टि गरेपछि शोधग्रन्थ तयार पार्नका लागि वैज्ञानिक नेतृत्व प्रदान गर्ने साहित्य शास्त्रमा महाविद्यावारिधि प्राप्त गरेकी र प्राच्य विद्या संस्थानको प्राचीन इतिहास तथा संस्कृति विभागमा कार्यरत प्रोफेसर, वयोबृद्धा विदुषी भिक्टोरिया भेर्तोग्रादोभाले शोधग्रन्थको वकालत गर्दै पालीभाषाको ‘पुद्गल’ शब्दले ‘पुंस्’ अर्थात् सामान्य ‘लोग्नेमान्छे’ भन्ने अर्थ बोध गराउने र त्यसको दार्शनिक चरित्र प्रष्ट्याउन ‘स्वत्व’ पारिभाषिक शब्द जोडेर शोधग्रन्थको मूलविषय वस्तु स्पष्ट पारिएको बताउँदै प्रारम्भिक बौद्ध दर्शनका लागि परमात्माको पर्यायवाची उच्चस्तरीय ‘पुरुष’ शब्द मान्य नहुने हुँदा ‘स्वत्व’ को अर्थबोध गराउने निम्न स्तरीय ‘पुद्गल’ शब्दको प्रयोग दार्शनिक दृष्टिले ग्रहण गरिएको कुरा छर्लंग पारेकी थिइन् ।

विद्वत् परिषदकी सचिवले प्रस्तुत शोघग्रन्थको सन्दर्भमा विभिन्न प्राच्य विद्या विशारदहरूबाट प्राप्त टीकाटिप्पणी पढेर सुनाएपछि शोधग्रन्थका दुई प्रतिपक्षी विद्वान्हरू अर्थात् वैज्ञानिक अनुसन्धान विश्वविद्यालयको मानविकी विज्ञान संकायकी प्राध्यापिका नातालियाकानाएभा तथा दर्शनशास्त्र, संस्कृति विद्या तथा मंगोलिया विद्या विभागका प्रमुख सेर्गेइलेपेखोभले आफ्नो लिखित समालोचनाको सारसंक्षेप र थप विचार पनि राखेका थिए ।

प्रोफेसर सेर्गेइलेपेखोभले आफ्नो मन्तव्यमा रूसमा पालीवाङ्मयको रूसीभाषामा अनुवादको संक्षिप्त इतिहास नै प्रस्तुत गरेका थिए । उदाहरणार्थ, प्रस्तुत शोधग्रन्थको मूलस्रोत पाली भाषाको कृति ‘पुद्गल–कथा’ को अंग्रेजी अनुवाद सन् १९१५ माभएको थियो भने बुद्धधर्मको क्षेत्रगत अध्ययनका लागि नेपाल लगायत भारत, श्रीलङ्का र म्यानमार (बर्मा) को यात्रा गर्ने प्रकाण्ड रूसीविद्वान् इभानमिनाएभले रूसमा यस कृतिको बारेमा चर्चा गरेका थिए । सोभियतकालमा संस्कृत र पालीभाषाबाट धार्मिक साहित्यको अनुवाद गर्न सम्भव थिएन, तर सन् १९६० मा सर्वप्रथम बल्लतल्ल ‘धम्मपद’ को रूसीअनुवाद प्रकाशित भयो र संस्कृत भाषाबाट पनि ‘ऋग्वेद’, ‘उपनिषद्’ लगायत विभिन्न कृतिहरूको अनुवाद प्रकाशित भएका थिए । अहिले बल्ल आनास्तासियालो झ्किनाबाट पाली भाषाको प्रारम्भिक दर्शन सम्बन्धी कृति रूसी भाषामा प्रकाशित भएको छ ।

राजकीय विश्वविद्यालय अन्तर्गत एशिया–अफ्रिका संस्थानबाट संस्कृत र पाली भाषा साहित्यको अध्ययन गरेर स्नातक उपाधि प्राप्त गरेपछि विद्यावारिधिका लागि पाली वाङ्मयको अध्ययनमा संलग्न आनास्तासियालो झ्किनाले प्रारम्भिक बौद्ध दर्शनको विषयमा व्यापक शोधकार्य गरिन् र यस विषयमा ‘दार्शनिक पत्रिका’, ‘दर्शनशास्त्रको इतिहास’, ‘दर्शनशास्त्रका समस्याहरू’, ‘मास्को विश्वविद्यालयको सन्देश’ आदि विभिन्न वैज्ञानिक पत्रिकाहरूमा उनका ११ वटा लेखहरू प्रकाशित भएका थिए । नवयुवती आनास्तासियालो झ्किनालाई प्रारम्भिक बौद्ध दर्शनको विषयमा विद्यावारिधिको प्राज्ञिक उपाधि प्रदान गरिनु रूसमा पाली बौद्धवाङ्मयको अध्ययनले भविष्यमा गहन रूप लिने कुराको द्योतक हो भन्न सकिन्छ । बुद्धको जन्मभूमि र सम्भवतः पाली भाषाको उद्गमस्थल समेत रहेको नेपालका लागि यो विशेष उपलब्धि हो भन्न सकिन्छ । रूसी विदुषीआनास्तासियालोझ्किनाअहिले आफ्नो शोधग्रन्थको आधारमा एक गहकिलो पुस्तकप्रकाशनगर्ने प्रयासमा संलग्न रहेकी छन् र भविष्यमा पनि उनका बौद्ध दर्शन विषयक कृतिहरूको प्रकाशनद्वारा नेपाली पाठकहरू समेत लाभान्वित हुने छन् भन्ने विश्वास छ ।
फोटो–सोजन्य : लिजाकुजिना र ल्युद्मिलाउशाकोभा
मस्को, रूस महासंघ ।

वि.सं.२०७६ माघ १५ बुधवार १५:१५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...