१९ माघ, काठमाण्डौं । चीनमा फैलिएको नोबेल कोरोना भाइरससँग लड्नका लागि विश्वका नेताले चीनलाई साथ दिने भन्दै ऐक्यबद्धता जनाएका छन् ।
कोरोना भाइरसका कारण शनिबारसम्म चीनमा २५९ जनाले ज्यान गुमाइसकेका छन् भने ११ हजार ७ सय १९ जना भाइरसबाट प्रभावित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट आफ्ना जनतालाई मात्र नभएर अन्य देशका नागरिक पनि यसले प्रभावित नबनुन भनेर हर सम्भव प्रयास गरेको चीनलाई विश्वका नेताले कोरोना भाइरसविरुद्ध लड्नका लागि साथ दिने भन्दै ऐक्यबद्धता जाहेर गरेका हुन् ।
चीनको यस्तो कदमलाई प्रसंसा गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनको निरन्तर सम्पर्कमा रहेको र आवस्यक सहयोग प्रदान गर्ने बताएका छन् ।
त्यस्तै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले महामारीविरुद्ध चीन सरकारले उठाएको कदमको प्रसंसा गदैं चीनलाई बलियो साथ सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।
त्यस्तै क्युबाका कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका सचिव राहुल क्यास्ट्रो र राष्ट्रपति मिगुएल डियाज कैनलले चिनिले उठाएको तिब्र कदम र चिनियाँ मित्रको क्षमता र ज्ञानमा पूरा विश्वास रहेको बताएका छन् । चीनले यस महामारीबाट पार गर्ने विश्वास लिँदै क्युवा आफ्ना चिनियाँ भाइहरुको क्षमता र सहयोगको लागि पूर्णरुपमा तयार रहेको छ ।
भियतनामका प्रधानमन्त्री गुयन जुआन फुकले भियतनामी जनता चीनका जनतामा आइरहेका विभिन्न चुनौतिका बारेमा चिन्तित रहेको बताउँदै कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) र सरकारका नेताहरुद्धारा गरिएको महान प्रयास चिनियाँ जनताका अगाडि महामारीको रुपमा देखिएको कोरोना भाइरसको विरुद्धको लडाइमा जित हासिल गर्ने विश्वास लिएको बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री समदेच टेको हुन सेनले कम्बोडियन जनता चिनियाँ जनतासँग मिलेर महामारीलाई नियन्त्रणमा लिन र कठिन समयमा एक भएर काम गर्ने बताएका छन् ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले चीनले कोरोना भाइरसविरुद्ध लड्नका लागि उठाएको बलियो कदमले महामारी रोक्न र नियन्त्रण गर्नका लागि चीन सरकार दृढ संकल्प र विश्वासका साथ अगाडि बढेको बताएका छन् ।
श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले कोरोना भाइरसविरुद्ध चीनले चालेको कदमको प्रसंसा गर्दै महामारी नियन्त्रणका लागि चीनसँगै मिलेर काम गर्ने बताएका छन् । उनले कठिन समयमा वुहानमा रहेका श्रीलंकाली विद्यार्थीको लागि चीनले गरेको सहयोगको सह्राना समेत गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले महामारीविरुद्ध लड्नका लागि चीनले गरेको सकारात्मक प्रयासको सह्राना गर्दै महामारी छिट्टै नै नियन्त्रणमा आउने विश्वास गरेका छन् । यसमा दक्षिण कोरिया चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एंटोनियोले चीन सरकार भाइरस नियन्त्रणमा सक्षम हुने बताउँदै समर्थन र सहयोग प्रदान गर्न तयार रहेको बताएका छन् ।
त्यस्तै इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो, युएईका राजा मोहम्मद बिन जायद अल नाहयान, विश्व स्वास्थ्य संगठन डब्लुएचओ का महानिर्देशक टेड्रोस अदनोम फिलिस्तीनी राष्ट्रपति महमुद अब्बास, कोमोरियन राष्ट्रपति अजांली आसोमानी लगायतले पनि कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि चीनसँग ऐक्यबद्धता जनाएका छन् । ऐजेन्सीको सहयोगमा
वि.सं.२०७६ माघ १९ आइतवार १२:२६ मा प्रकाशित





























