१९ माघ, काठमाडौं । कृषि क्षेत्रमा तोकिएको १० प्रतिशत कर्जा लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ । गत असारसम्म वाणिज्य बैंकहरूले कृषिमा कुल कर्जाको न्यूनतम १० प्रतिशत, ऊर्जा तथा पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । सो अवधिमा कृषिमा कुल कर्जाको ८.५२ प्रतिशत मात्र लगानी भएको कारण राष्ट्र बैंकले कारबाही गरेको हो ।
राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले बंगलादेश बैंकलाई ४ करोड जरिवाना गरेको हो ।
२७ वाणिज्य बैंकमध्ये तोकिएको क्षेत्रमा कर्जा नपुगेको भन्दै कारबाहीमा पर्ने बैंक एनबी मात्र हो । असारसम्म कृषिमा १० प्रतिशत लगानी नपुगे पनि असोजसम्म पुगेको छ । राष्ट्र बैंकले भने असारसम्मको कर्जाका आधारमा कारबाही गरेको हो ।
वि.सं.२०७६ माघ १९ आइतवार १३:०१ मा प्रकाशित






























