२३ माघ, वार्सा । पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी मे १० तारिखका दिन निर्वाचन हुने भएको छ ।
तल्लो सदनका सभामुखले बुधबार संसद्मा राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेका हुन्। उनले दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा मे २४ मा गर्ने तय भएको पनि संसद्मा घोषणा गरे ।
पोल्याण्डका सञ्चारमाध्यमहरूले आगामी निर्वाचनबाट पनि वर्तमान राष्ट्रपति अन्द्रजेज डुडा नै विजयी हुने सम्भावना अत्यधिक रहेको उल्लेख गरेका छन् । उनीहरूले गरेको प्रारम्भिक मत सर्वेक्षणले उनलाई नै बलियो उम्मेदवारका रूपमा देखाएको जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार सर्वेक्षणमा सहभागीमध्ये कूल ४२ प्रतिशतले वर्तमान राष्ट्रपति डुडालाई नै मत हाल्ने बताएका छन् ।
उनीहरूमध्ये २६ प्रतिशतले राष्ट्रपतिका अर्का प्रतिस्पर्धी माल्गोर्जाता किडावा ब्लोन्स्कालाई निर्वाचित गराउनुपर्ने धारणा राखेका थिए ।उनी देशको सबैभन्दा ठूलो विपक्षी शक्तिका रूपमा रहेको सिभिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिने भएका छन् ।
सर्वेक्षणकर्ताहरूका अनुसार वर्तमान राष्ट्रपति डुडा पहिलो चरणको मतदानबाट नै विजयी हुने सम्भावना अत्यधिक देखिएको छ । सर्वेक्षणमा सहभागी भएकामध्ये आठ प्रतिशतले भने कसलाई मतदान गर्ने भन्नेबारेमा निर्णय भइनसकेको बताएका थिए ।
वि.सं.२०७६ माघ २३ बिहीवार ०८:५१ मा प्रकाशित





























