२४ माघ, काठमाडौं । दुई हप्ता अघिमात्र चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण हालसम्म ६ सय ३६ जनाले चीनमा ज्यान गुमाइसकेका छन् । चीनका विभिन्न शहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन् । कोरोना भाइरसका कारण चीन बाहिर भने २ जनाको ज्यान गएको छ ।
नेपालमा भने केहिलाई संक्रमणको आशंका भएपनि पुष्टि भने भएको छैन । तर हल्ला भने चीनमा भन्दा नेपालमा व्यापक भैरहेको छ । जस्को प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको छ । साथै कोरोनाकै कारण नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि अलपत्र परेको छ ।
सधैजसो पर्यटकले खचाखच हुने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड यतिवेला सुनसान छ । मुख्यगरी चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । अन्य देशबाट आउने पर्यटक पनि नेपालमा हुने गरेको कोरोनाको हल्लाले भ्रमण रद्द गरिरहेका छन् ।
नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ । चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ ।
चीनमा कोरोनाको सङ्क्रमण अत्याधिक भएकोले चिनियाँ पर्यटकले बस्ने समय थपेका छन् भने अन्य देशका पर्टटकहरु कोरोनाको हल्लाकै कारया भ्रमण अवधि छोट्याएर आ आफ्नै देश फर्किइसकेका छन् ।
पोखरामा मात्र होइन, काठमाडौंका पर्यटकिय क्षेत्रको हालत पनि उस्तै छ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल, स्वयम्भू, पशुपति भक्तपुरको दरवार स्वायर, पापटन दरवार लगायतका ठाँउहरु पनि पछिल्लो समय सुनसान भएका छन् ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १२:१० मा प्रकाशित






























