२४ माघ, काठमाडौँ । नोबल कोरोना भाइरसका कारण हालसम्म ६३६ जनाको मृत्यु भैसकेको छ भने ३१,१६१ जना मानिस यो रोगबाट प्रभावित भएका छन् ।
चीनको हुवेई प्रान्तको उवानबाट फैलिएको यो भाइरस अहिले विश्वका २५ देशमा पुगेको तथ्याङ्कले देखाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहिबार मात्र पनि कोरोना भाइरसका कारण ७३ जना मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिविसिले समाचारमा जनाएको छ ।
युरोपियन सेन्टर फर डिजिजेज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार फ्रेबुअरी ६ सम्म चीन बाहेक २५ देशमा पनि कोरोनाबाट प्रभावित बिरामी देखिएको तथ्याङ्क छ ।
जसअनुसार चीन बाहिर सबैभन्दा धेरै जापानमा ४५ जना बिरामी भेटिएका छन् भने त्यसपछि सिंगापुरमा २८, थाइल्याण्डमा २५, दक्षिण कोरियामा २३ जना भेट्टिएका छन् । नेपालमा पनि १ जना कोरोना भाइरस संक्रमित भएको बताइएको छ ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १२:१५ मा प्रकाशित





























