२४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि राजनीतिक मूलधारमा आउनै पर्ने बताएका छन् । शुक्रबार आफ्नै निवास खुमलटारमा विप्लव नेकपाका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडि जानुको कुनै विकल्प नभएको बताए ।
अध्यक्ष प्रचण्डले भने, “कम्युनिस्ट आन्दोलनको हितमा, राष्ट्र र जनताको हितमा हामी आफैले लडेर जे उपलब्धि हासिल गरेका छौँ त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने र समाजवादतिर जानुको विकल्प छैन । नेपालको विकास र समृद्धिको यात्रामा तपाईहरुको पार्टी प्रवेशले विशेस अर्थ राख्दछ ।”
प्रचण्डले नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा विप्लव नेकपाका मध्ये कमान्ड आर्थिक प्रमुख पार्टी ब्युरो सदस्य प्रकाश देवकोटा (सिन्धुली), तत्कालीन महोत्तरी जिल्ला पार्टी इन्चार्ज रुपेश कार्की, (महोत्तरी) जिल्ला पार्टी सेक्रेटरी भिम आले मगर (महोत्तरी) लगायतका नेताहरुलाई प्रचण्डले नेकपा प्रवेश गराएका थिए ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १२:३७ मा प्रकाशित






























