४ फागुन, काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा गएको छ। दुवै पक्षको बहस सकिए पनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो । बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि अदालतले भोलि फैसला दिने भएको छ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलाशमा अन्तिम सुनुवाइ सकिए पनि मुद्दाको फैसला लेख्न समय अपुग भएपछि भोलिसम्मलाई हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार आनन्द श्रेष्ठले बताए। महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए।
त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे। सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको थियो।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो। गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
वि.सं.२०७६ फागुन ४ आइतवार १७:५७ मा प्रकाशित






























