५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता रक्षा आफ्नो पहिलोर उच्च प्राथमिकता हुने बताएका छन् ।
जबरजस्ती करणी प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि विज्ञप्ति जारी गर्दै उनले ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहने’ जनाएका हुन् ।
उनले आफूमाथि लगाइएको तथाकथित आरोप गलत सावित भएको समेत बताएका छन् ।
महरालाई काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा आइतबार सफाइ दिएको थियो । त्यसलगत्तै उनी डिल्लीबजार कारगारबाट मुक्त भएका थिए । अदालतले सफाइ दिएसँगै निलम्बनमा रहेको महराको प्रतिनिधिसभाको सांसद पद फुकुवा भएको छ ।
संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ :
“आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।
यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।
म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।”
धन्यवाद १
२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२
वि.सं.२०७६ फागुन ५ सोमवार २०:१८ मा प्रकाशित





























