१४ फागुन, विराटनगर । सिंघिया खोलामा तीनवटा पिलर ठडिएको १८ वर्ष भयो । ग्रामथान र बुढीगंगा गाउँपालिका जोड्न २०५८ सालमा पुल बनाउन थाले पनि पूरा हुन सकेको छैन। पुल नबन्दा ग्रामथान र बुढीगंगा दुर्गमजस्तै बनेका छन्।
ती पिलरमा फलामको भुइँ र बार लगाएर अस्थायी पुल बनाइएको छ । बाँसको पुलबाट साइकल र मोटरसाइकलसहित तर्नुपरे १० रुपैयाँ तिर्नुपर्छ। स्थानीय युवाले पुलछेउमा बसेर शुल्क उठाउँछन्। ग्रामथान र बुढीगंगा गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
‘म सानै छँदा पुल बनाउन सुरु गरेको अलिअलि थाहा छ। अझै निर्माण सम्पन्न भएन,’ बुढीगंगाका श्याम चौधरीले भने, ‘वर्षायाममा धेरै समस्या हुन्छ ।’ हिउँदमा बाँसको पुल र वर्षामा लामो बाटो घुमेर अन्यत्र जान बाध्य रहेको उनले सुनाए ।
पुल निर्माण भए ग्रामथान गाउँपालिकाको तेतरियाबाट बुढीगंगा हुँदै सुनसरीको दुहबीसम्म सडक जोडिन्छ । पुल नबन्दा झन्डै १५ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको स्थानीय बताउँछन् ।
ठेकेदारलाई स्थानीयले पटकपटक दबाब दिए पनि चासो नदेखाएको स्थानीय वृद्ध नरजित ठाकुर बताउँछन्। ‘सांसद, मन्त्री, नेता सबैलाई भन्दा पनि कसैले सुनेनन्’ ठाकुरले भने, ‘चुनावको बेला भोलि नै पुल बन्ने जस्तो गरी भाषण गर्ने नेताको अहिले मुख देखिँदैन ।’ सुरेश खरेलले ठेक्का लिएर निर्माण सुरु गरेका हुन्।् । बुधबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन १४ बुधवार ०७:३३ मा प्रकाशित






























