१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले नेकपालाई कुनै पनि हालतमा टुटपुट हुन नदिने बताएका छन् । बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विचार विधी र नेतृत्वको मिलनबाटै पार्टी एकता भएकोले स साना विवाद हुँदैमा पार्टी नै फुट्छ की भन्ने आशंका गरिनु आवस्यक नभएको बताए ।
गतिशिल पार्टीमा बेला बेलामा उत्तराचढाव आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ थियो । विवाद नभएको दिन पार्टी नै नरहने उनले तर्क गरे। ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’
उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए। विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने।
वि.सं.२०७६ फागुन १५ बिहीवार १६:२८ मा प्रकाशित





























