
१५ फागुन, काठमाडौं । सरकारले पेट्रोल र डिजेल विकास कर बढाउने निर्णय गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्लेनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले फागुन १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर १० रुपैयाँ बनाएको जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले यसबारे जानकारी दिएका हुन्। तत्कालीन मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
सरकारले यसअघि गोरखा र धादिङमा बनाउन लागिको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा विकास कर लगाउने गरेको थियो। त्यसबेला सरकारले प्रतिलिटर ५ रुपैयाँ कर लगाएको थियो।
यो निर्णयसँगै पेट्रोलको मूल्य ११३ पुगेको छ, भने डिजेलको मूल्य प्रतिलिटर १०२ पुग्ने भएको छ ।
वि.सं.२०७६ फागुन १५ बिहीवार १५:५९ मा प्रकाशित