१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ। उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । उनका बुबा ०५६-५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए ।
युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।
तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका थिए ।
सभामा संवोधन गरेर आसनमा फर्कने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार भएको जुत्ताले प्रचण्डलाई भने लागेको थिएन ।
https://www.youtube.com/watch?v=zjJSK4ltQdk&feature=emb_logo
वि.सं.२०७६ फागुन १८ आइतवार १६:४७ मा प्रकाशित






























