
१९ फागुन, काठमाण्डौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको भन्दै १४ वुँदे अपिल सहित सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसद्धारा पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्म्लेनमा यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि समेत अपिल गरेको छ ।
‘दशा बाजा बजाएर आउन्न भन्ने एक पूरानो कहावत छ । तर प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ । कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाली कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा हार्दिक अपील गर्दछ ।’
पूर्व सतर्कताबारे सरकारलाई सार्वजनिक आग्रह
१- विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् ।
२- कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाइयोस् ।
३- संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।
४-फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्रा्ष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ । प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।
५-स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।
६- केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाइयोस् ।
७- संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पु¥याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइयोस् ।
८-संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण ढंगले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणहरुको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीहरुलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस् ।
९-संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याइयोस् ।
१०- n\95 मास्क पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यान पुगोस् ।
११.-संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता पुगोस् ।
१२.-चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मृति गर्दै दुई थप सतर्कता सरकारलाई गराउँदछौं ।
(क) ठूलो संख्यामा नेपालीहरु रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको छ । त्यस्तो देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, तत्काल विमर्श गरियोस् ।
(ख) वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस् ।
१३- कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरुको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याओस् ।
१४-ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरुको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्दछ । सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ । अतः जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न नेपाली कांग्रेस नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपील गर्दछ ।’
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख-सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली कांग्रेस
वि.सं.२०७६ फागुन १९ सोमवार १८:०७ मा प्रकाशित