१९ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काम फर्कने बताएका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले भर्ना हुनुभन्दा पहिले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताउँदै आफ्नो जीवन संघर्षमै वितेको समेत बताए ।
प्रधानमन्त्रीले आफ्नो जीवन कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि गरेको संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि गरेको संघर्ष, कहिले दायित्व नचाहाने र नलिनेहरुसँगको संघर्षसँग जुध्दै आएको समेत बताएका छन् ।
‘मुलुकमा व्याप्त एक प्रकारको विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीर भित्र सिर्जत रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘१२ वर्ष अगाडि नै मेरा दुवै मिर्गौलाले कामगर्न छाडेपछि २०६४ साउनमा पहिलोपटक मिगौला प्रत्यारोपण गराएको थिए । त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । पर्सि फागुन २१ गते फेरि मिर्गौला प्रत्यारोपण गराउँदैछु ।’
प्रधानमन्त्रीले त्यसको चिकित्सकिय तयारीका लागि आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुन लागेको पनि बताए । विज्ञान, प्रविधि र सीपका कारण मिर्गौला प्रत्यारोपण पहिलेजस्तो जटिल नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रुपमा सहज हुने मैले विश्वास लिएको छु ।’
आफ्नै मुलुक र आफ्नै देशका चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा गौरवको अनुभुति गरेको बताउँदै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाई लिएर सबैलाई ढुक्क हुन आग्रह समेत गरेका छन् ।
‘समृद्द नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केहिदिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने समेत प्रधानमन्त्रीले बताए ।
यस विचमा सरकारका तर्फबाट गर्नुपर्ने काम नियमित रुपमा अघि बढ्ने बताएका प्रधानमन्त्रीले विश्वमा त्रास फैलाएको कोरोना भाइरस वा कुनै भैपरि आउने विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समय आवस्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था ल्याएको समेत बताएका छन् । ‘मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता कार्यकर्ता, सांसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियासील हुनेमा म विश्वस्त छु,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् ।
प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशका मित्रहरुलाई धन्यवाद समेत दिएका छन् ।
वि.सं.२०७६ फागुन १९ सोमवार १८:४२ मा प्रकाशित