
२२ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उत्सव, मेला, पर्वलगायतका कार्यक्रमको आयोजना नगर्न जिल्लाबासीलाई अनुरोध गरेको छ । कोरोना भाईरसको उच्च जोखिममा नेपाल पनि रहेकोले यस्ता कार्यक्रमहरु आयोजना नगर्न र सहभागि नहुन अनुरोध गरिएको हो ।
विहीबार प्रशासकीय अधिकृत मान बहादुर बुढाले जारी गरेको सूचनामा भीडभाड र मेला महोत्सवमा उपस्थित नहुन र होली पर्व पनि नमनाउन अनुरोध गरिएको छ ।
कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ । ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।
चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।
चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १४:२५ मा प्रकाशित