२८ फागुन, झापा । झापा कमल गाउँपालिका–१ सन्थाल बस्तीकी कुसुम हस्दा (१३)को हातमा कलमकापी लिने उमेर छ । तर, उनको हातले दैनिक कुटो, कोदालो समाउनुपरेको छ । किताब, कापीसँग सम्बन्ध टुटेको दुई वर्ष भयो । बाँसबारी माविमा कक्षा–४ मा पढ्दै गर्दा विद्यालयसँगको सम्बन्धमा पूर्णविराम लाग्यो ।
पढाइ छाड्नु उनको रहर हैन, बाध्यता हो । घरमा बुबाआमा त छन् । तर, परिवारको जिम्मेवारी कुसुमको काँधमा छ । बुबाको भर छैन । आमा बिरामी छिन् । एउटी बहिनी र भाइको आवश्यकता पूरा गर्नेदेखि आमाको औषधि किन्नेसम्म उनले जिम्मेवारी निभाउनुपरेको छ । ‘बुबा त छन् । तर, सधैँ रक्सी खाएर झगडा मात्र गर्छन् ।
उनले कमाएकोे रक्सी खानै पुग्दैन । कहिलेकाहीँ त रक्सी खाएको पैसा पनि मैले नै तिरिदिनुपर्छ,’ उनी भन्छिन्, ‘आमालाई डिप्रेसन भएको छ रे ! दबाई मैले नै किन्नुपरेको छ । एक दिन दबाई नखाँदा अर्कै कुरा गछैन् ।’
सीमान्तकृत सन्थाल समुदायकी हस्दालाई पढ्ने रहर छ । तर, परिवार चलाउने बाध्यताका कारण उनले पढ्नै पाएकी छैनन् ।उनी अहिले घर चलाउन दैनिक अरूकोमा खेताला जान्छिन् ।
धान रोप्न, मकै गोड्नेलगायत खेतबारीमा काम गर्नु त उनको दैनिकी नै भइसक्यो । ‘खेताला जाँदा दिनको चार सय हुन्छ । यसले घर चलाउन पुगेको छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ बिरामी हुन्छु । त्यो वेला त खाना खान पनि पाइँदैन ।’ बुधबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:१४ मा प्रकाशित


























