२८ फागुन, लहान । तल्लो जातसँग विवाह गरेको भन्दै माइती पक्षले अपहरणको शैलीमा श्रीमान्बाट खोसेर लगेकी युवती नौ दिनदेखि बेपत्ता भएकी छिन् ।
सिरहाको लहान नगरपालिका–२२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुनमा माइती पक्षले जबर्जस्ती लगेको थियो । त्यसयता युवतीको अवस्था अज्ञात छ ।
तल्लो जातसँग विवाह गरेको भन्दै आफ्नी पत्नीलाई बर्छवास्थित घरबाटै जबर्जस्ती खोसेर लगेको २३ वर्षीय मुकेश विश्वकर्माले बताए । ‘म आफ्नै घरमा थिएँ, १८ फागुनको राति विष्णुदेव यादवसहितको समूह आएर मेरी श्रीमतीलाई जबर्जस्ती उठाएर लग्यो,’ मुकेशले नयाँ पत्रिकासँग भने, ‘प्रतिवाद गर्दा ज्यान मार्ने धम्की दिए । त्यसयता मेरी श्रीमती बेपत्ता छिन् ।’
लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित जनता डोमी प्राविधिक विद्यालयमा पढिरहेका मुकेश र लक्ष्मीपुर पतारीकी २१ वर्षीया मधुकुमारीले गत ५ मंसिरमा लहानस्थित राम मन्दिरमा विवाह गरेका थिए । यस्तै, २९ माघमा सिरहा जिल्ला अदालतले दुईबीच पति–पत्नीको नाता कायमको फैसला गरेको थियो । बुधबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:२८ मा प्रकाशित






























