
८ चैत, टिकापुर , कैलाली । अक्षर साहित्य प्रतिष्ठानको बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रम यसपटक टीकापुरमा भएको छ । प्रतिष्ठानको श्रष्ठा आँगन कार्यक्रम साहित्यकार बलबहादुर रावलको आँगनमा भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ बुँद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउने बताएका छन् । रानाले प्रकृतिले सबै थोक दिएको भएपनि प्रवृत्तिले ठग्ने हुनाले युवाहरुले युगवाहकको रुपमा रहनुपर्ने बताए । साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै सँस्कार, सँस्कृति सिकाउदै समृद्धि हुने समेत बताए ।
कार्यक्रममा साहित्यकार एबम समाजसेवी बलबहादुर रावल, उनका आमाद्धय सावित्री देवी रावल र चम्फादेवी रावल, पत्रकारिता क्षेत्रबाट समाजलाई सहयोग गर्ने पत्रकार गणेश चौधरीलाई श्रष्टाको आँगनमा सम्मान गरिएको थियो ।
अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मदन प्यासीले गरेका थिए । कार्यक्रममा पूर्वराज्यमन्त्री चन्द्र सिंह भट्टराई, वरिष्ठ साहित्यकार गगनसिह थापा र सोनु गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने रुपा रावल स्वार लगायत २१ जना स्रष्टाले विभिन्न रचना वाचन गरेका थिए । कार्यक्रम संचालन साहित्यकार विपी खनालले गरेका थिए ।
वि.सं.२०७६ चैत ८ शनिवार १३:१२ मा प्रकाशित