बिष्णु सापकोटा, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैरआवासीय नेपाली संघ बेल्जियम लगायत बेल्जियमस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुभेनको ओन्जहाउसको सभा हलमा १८ डिसेम्बरका दिन दिन सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली दुताबास ब्रसेल्सका नवनियुक्त राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्की महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमार श्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत थापाले बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुसँग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाँचवटा अवधारणा प्रस्तुत गरेका थिए । साथै बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले राखेका जिज्ञाशा, सुझाव(सल्लाह लगायत टिप्पणीहरुको बारेमा राजदुत थापाले प्रष्ट पारेका थिए ।
गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै बिभिन्न बिषयहरुमा भएको छलफल तथा अन्तरक्रियामार्फत उठेका बिषय बस्तुले सामुहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडी बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपाली लाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।
एनआरएन तथा बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुसँग दुतावासले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रसंशा गर्दै नव नियुक्त राजदुतबाट उहाँको कार्यकालमा धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको सहभागीहरुले बताएका छन ।
त्यस्तै राजदूत थापाले नेपालको भिषा प्रक्रियामा हुने ढिलाईको बारेमा उठेका प्रश्नको जवाफमा दुतावासले अवदेखि एकदिनमै भिषा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले संचालन गरेका थिए ।
वि.सं.२०७३ पुस ४ सोमवार ०६:०६ मा प्रकाशित