४ पुस,बेरुत । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको अलेप्पो सहरबाट केही घन्टा विलम्ब भए तापनि सोमबार थप एक हजार भन्दा बढी व्यक्तिलाई त्यहाँबाट निकालिएको एक चिकित्सकले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
अलेप्पो सहरमा फसेका व्यक्तिलाई उद्धार गर्ने टोलीका प्रमुख तथा चिकित्सक अहमद दबिसका अनुसार महिला र बालबालिकासहित करिब एक हजार दुई सय व्यक्ति अलेप्पोको पश्चिमी सहरमा गाडी चढ्नको लागि आइपुगेका छन् ।
यद्यपि ‘द’ सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले विद्रोहीको कब्जामा रहेको अलेप्पोको उत्तर पश्भिम भागमा रहेका दुईवटा गाउँबाट करिब पाँच सय व्यक्तिलाई त्यहाँबाट सारिएको छ ।
वर्षौसम्म जारी लडाइपछि सिरियाली सरकारी पक्षले सिरियाको अलेप्पो सहरमा सम्पूर्ण भागमा नियन्त्रणमा लिएपछि सो सहरबाट हजारौँ स्थानीय बासिन्दा र विद्रोही पक्षका व्यक्तिले अलेप्पो छोड्ने क्रममा जारी रहेको छ ।
सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । जारी गृहयुद्धको कारण २०११ देखि हालसम्मा मृत्यु हुनेको व्यक्तिको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गत मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारण रहेका छन् ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्नो देश या विदेशका शरणार्थी जीवन बिताउन बाध्य छन् । रासस÷एएफपी
वि.सं.२०७३ पुस ४ सोमवार १०:०१ मा प्रकाशित