करिब २०५२ सालको कुरा हो । बैशाख महिनाको पहिलो हप्तामा घरमा मकै गोड्ने आमा सहित ८ जना खेताला थिए । मेरो काम घरको सरसफाई, पँधेराबाट पानी जम्मा गर्ने, खाना पकाउने, घाँस काट्ने र खेतालाहरुलाई खाजा बनाउने थियो । खाजामा मकै उसिनेर लसुन खुसार्नीको पिरो लिएर ३ बजे बारीमा पुगे (भित्रबारी) । खाजा खाईसकेपछि ठुलो पानी आयो । नजिकै कटेरो (गोठ) भएको र भैसी चराउन साईला दाई जानु भएको थियो भने गोरु जोत्न हलि दाईले लग्नु भएको थियो । खाली कटेरोमा पुग्ने वित्तिकै मुसलधारे असिना पानी आयो । बारीमा दिनभरि गोडेको मकैलाई असिनाले नराम्रो सँग चुट्यो । उर्वरशिल माटोलाई पानीले बाढि बनाएर लग्यो । आमाले थुई थुई गर्दै यसरि खेति गर्नु भन्दा त बाँझै छाड्नु वेस भनेर आँखा भरि आँशु पार्दै गरेको त्यो रोदनले अझै पनि मलाई सम्झँदा ठुलो पिडा हुन्छ । करिब साढे ३ बजे शुरु भएको पानी ५ बजेसम्म रोकिएको थिएन । रुज्दै भैसी गोठमा आईपुगे गोरु पनि आईपुग्यो हामि छेउ तिर लाग्यौं केहिछिन पछि साईला दाई पनि प्लाष्टिक ओडेर निथुक्क रुजेर गोठमा छिर्नुभयो ।
करिब साढे ५ बजे पानी बन्द भएपछि सबै खेताला भोली आउने वाचा गर्दै विदा भए । भोलि विहान ७ बजे बाट ९ बजेसम्म काम गरेर हिजोको दिन पुरा गरि ज्याला स्वरुप २५ रुपयाँ लिएर गए । त्यसरी खेती गर्दा हामीलाई बर्ष भरि खान मुस्किल पर्दथ्यो भने विचार ति निमुखा गाउँलेहरुले दुई दिन सम्म काम गरेर लगेको २५ रुँपयाले कसरि गुजारा गरे होला ? म जहाँ भएपनि आकाश मिल्किएर गड्याङ् गुडुङ गर्दै ठुलो पानी पर्ने वित्तिकै सम्झने गर्दछु, भावविहल हुन्छु । गतिलो लगाउने र एक छाक खान नपुग्ने त्यो परिवारको स्थिति कस्तो थियो होला ? आज समय बदलिएको छ । मेरो आमा जस्ता लाखौं आमाहरुको रोदनले सबै गाउँ बाँझै बनेका छन् । जति असिना पानी, बर्षा भएपनि कहिँ कसैको नोक्सानी गर्दैन ।
प्रकृतिलाई हामीले जितेको भ्रममा छौं । देश भरिको स्थिति यस्तै छ । ति निमुखा परिवार, जो ढोकामा बसेर चिहाएर निवेक (खेताला) गरेर आसमा बाँचेका परिवारहरु आज मेलापात गर्न छोडेर धेरै जसो विदेशिएका छन् उनिहरुको घरमा एलसीडि टिभि आरामदायी फर्निचर, घरको सजावट, सिमेन्टले लिपेको घर बैंकमा धेरै थोरै नगद जम्मा छ । स्यावास ! आज तिनिहरुले आफ्ना परिवारलाई भोकाएको बेलामा खानको लागि कुनै दुःख छैन, न उनिहरुलाई परिवारलाई निवेक पठाउन नै परेको छ । हरेकले आफ्ना परिवारलाई स्मार्ट फोन पुर्याएका छन् । कृतिम दुनियाँमा मस्त छन् । छोरा छोरी सक्नेले वोडिङ स्कुल नसक्नेले सरकारी स्कुल भएपनि पठाएका छन् । कसैको गोठालो हलि निवेक खाएर बस्नु परेको छैन । समयले कोल्टो फेरेको छ । पर निर्भरता तिर हामि धेकेलि रहेका छौं ।
मैले वालापनमा देखेको भोगेको समस्या अझै पनि दुर्गम भुभागहरुमा व्याप्त छ । हामीले माटोलाई चिन्न सकेका रहेनछौं । माटोमा जिवन र भविष्य सोच्नेलाई राज्यले कहिल्यै पनि संवोधन गर्न सकेको रहेनछ । किनकि त्यो बर्गका सबै सधैं शोषित बनेर बसिरहेका रहेछन् । देशका हरेक राजनितिक उतार चढावमा कार्यकर्ता पालन पोषण गर्ने ति किसान सधै निचोरिए । सृष्टिकर्ताले एक स्वर्णिम समुदायको परिकल्पनामा त्यस समाजमा शान्तिपूर्ण, सहनशीलता र सुखीरुपमा बाँच्न सक्ने स्वाभलम्बी मानीसहरुलाई जन्म दिएका थिय । ति किसान थिए । आज ति किसानको सासमा अडिएको हाम्रो एक मुठी प्राण कहिले सम्म रहने हो अन्योल छ । हामिले खाने गाँस जिवनयापनको प्रमुख आवश्यकता ठान्छौं भने कृषिलाई वाध्यात्मक पेशाको रुपमा किन सोचिरहेका छौं ? यो प्रश्नको जबाफ अन्योल छ । किनकि हामी कृतिम संस्कार र देखावटिले गाँजिरहेको छ । आमाहरुका रोदनहरुलाई हामिहरुले अनुसरण गर्ने तर्फ लाग्ने कि ? अन्त्यमा स्वदेश तथा विदेशमा रहनु भएको सम्पुर्ण नेपाली महानुभावहरुलाई नव बर्ष २०७७ को धेरै धेरै शुभकामना ।
वि.सं.२०७६ चैत ३० आइतवार २१:०१ मा प्रकाशित