अहिल्यै सामाजिक संजालमा सबैतिर रहेका सच्चा, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, न्याय-समानता र स्वतन्त्रताप्रेमी, इमान्दार, क्रान्तिकारी र देसभक्तहरुको एउटा समूह बनाई छलफलगरौं, कार्यक्रम बनाऔं र जनतालाई जगाऔं र जुटाऔं, सबैतिरका सच्चा नेताहरुलाई सर्वप्रथम सही सुझाव दिऔं, साहस भरौं र साथ दिऔं, नभए चेतावनी दिऔं, खबर्दारी र हस्तक्षेप गरौं ।
नेपालमा विगत लामो समयदेखी भैरहेका बेथिती, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रस्टाचार आदि इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गैरहेका छन् । त्यसमाथी हालैको आयातित अनिष्ट (कोरोनाभाइरस नामक विश्वब्यापी महामारी) को प्रकोप र आतंकसङ्गैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका बिच यस महामारीबाट बच्नको लागि अत्यावश्यक स्वास्थ्यसामाग्री खरिदमा भएको भनिएको भयङ्कर भ्रष्टाचारलाई लिएर भैरहेका चौतर्फी भर्त्सना र भण्डाफोरका कारण दिनानुदिन धोद्रो र कमजोर बन्दै गैरहेको वर्तमान गणतन्त्रका विरुद्ध विद्रोह र विष्फोटको वातावरण बनिरहेको छ ।
यो अवस्था भनेको निकै नाजुक, संवेदनशील र गम्भीर अवस्था हो । यसै अवस्थालाई पूँजीकृत गर्दै देसी- विदेसी प्रतिकृयावादी(साम्राज्यवादी–विस्तारवादी_ शक्तिहरुले प्रतिगमन र प्रलयका दुस्प्रयास र षड्यन्त्रहरु गरेर हाम्रो भविष्यप्रति निकै नै गडबड गरिरहेका छन् !
अहिले समाजवादी –साम्यवादी क्रान्तिकारी र बैज्ञानिक विचारधारा, व्यवस्था, विधि र व्यवहार तथा यीबारेका वैचारिक वहस आदि सबैको विघटन र विसर्जन हुदैगैरहेको विषम र विडम्बनापूर्ण वर्तमानमा समाजवादी–साम्यवादी सिद्धान्तबाट शिक्षित, सचेत र संघर्षशील सदस्य रनागरिकका नाताले के गरौं, कसो गरौं, केही न केही त गरौं भन्ने लागिरहेको थियो ।
यसै बिचमा हाम्रो दसबर्से महान् जनयुद्धका टेक्निकल साइन्स विभागका प्रमुख क। दिवाकर अर्थात् देवेन्द्र श्रेष्ठले फोन गर्नु भयो र हाम्रा बिचमा देस, जनता, क्रान्ती र पार्टीको रक्षाको लागि केही गरौं भन्ने प्रसङ्गमा राम्रो सरसल्लाह भयो । यससन्दर्भमा सर्वप्रथम निश्चित सीमा तय गर्ने, ती सीमाभित्र समेटिने विशेष व्यक्तित्वहरुको नामावली संकलन गर्ने, उहाँहरुसँग सम्पर्क गरि एकल वा सामूहिक रुपमा पहिले साइवर र पछि सम्भव भएमा प्रत्यक्ष छलफल गर्ने गरी एउटा कार्ययोजना र एउटा सशक्त प्रभावकारी टीम बनाएर राज्य र आन्दोलनमा हुँदैगरेको प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने कार्यक्रमहरु कार्यान्वयन गर्ने(गराउने भन्नेमा पुगियो ! यसो गर्दा सके त केही न केही सकारात्मक उपलब्धी पनि होला, न भए र नसके पनि कम्तिमा हामीले आफ्नो दायित्व पूरा गर्न गरेको प्रयत्न र संघर्षले हामीलाई आत्मसन्तुष्टि त देला भनेर केही गर्ने प्रस्ताव अघि सार्ने जमर्को गरिएको हो ।
हुन त आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद– प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि आफ्ना दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी दर्ज गर्दै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला-गला र गाला-माला मिलाउने ताल, चाल र ढाल चलिरहेका छन् । नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था समेत भयो । त्यही जटिल, गम्भीर र संवेदनशील घडीमा पाखा पारिएका र परपर पुगेका पुरानो वा पछिल्लो पुस्ताका पवित्र प्रतिभाहरुले क्रान्ती, मुक्ती र प्रगतीलाई मति र गति दिन जे जति सकिएला दिनुपर्छ, दिऊँ र केही त गरौं है भनेर नै गत फागुन १ गते जनयुद्ध दिवस विभिन्न समूहमा छरिएर रहेका संगठित वा स्वतन्त्र माओवादी जनयुद्धका नेता, कार्यकर्ता, योद्धा र समर्थक-शुभचिन्तक लगायतका केही इमानदार क्रान्तिकारी कमरेडहरुद्वारा अलि भिन्न प्रकारले स्मरण गर्दै मनाइएको थियो । यसरी बागबजारको हार्दिक होटलमा २५औं जनयुद्ध दिवस मनाएर हामीले जनयुद्धको विचार, लक्ष, मर्म र भावना सही रहेको, त्यसको योगदान र बलिदान अमूल्य रहेको र त्यसका सहिद, बेपत्ता, घाइते र जेल-हिरासतवन्दीहरु सम्मान र सम्झनायोग्य रहेका अनि जनयुद्धको संचालन गर्ने नेता-कार्यकर्ता र जनयुद्धका सहभागी, समर्थक र सहयोगीहरुको त्याग, तपस्या र लगानी र कुर्वानी स्तुत्य रहेको संश्लेषण गरिएको थियो । साथै उक्त कार्यक्रमद्वारा छरिएर रहेका सम्पूर्ण नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेस सहिद, बेपत्ता र घाइते योद्धाका अधुरा सपना साकार पारिनुपर्ने, कम्युनिस्ट पार्टीका राष्ट्रिय- अन्तर्राष्ट्रिय संस्थापक र गुरुहरुका अपूरा नीति, योजना र कार्यक्रमहरु पूरा गरिनुपर्ने जस्ता महत्वपूर्ण सन्देस संप्रेषण गर्ने प्रयत्न भएको थियो ।
त्यसैले पनि त्यसलाई निरन्तरता दिन र वर्तमानमा पार्टी र राज्यको नेतृत्व, समग्र पार्टीपंक्ति, राज्यव्यवस्था अनि समाज र संस्कार-संस्कृतिमा अन्तर्निहित व्यक्ताव्यक्त, दृश्यादृश्य र चुरप्रचुर विचलन- विघटन, विकृती- विसङ्गती तथा हालैको कोरोना महामारी र यसलेगर्दा बढेका भोकमरी लगायतका तत्कालका समस्या अनि प्रतिक्रान्ती र प्रतिगमनजस्ता तत्कालीन र दीर्घकालीन समस्याहरुका विरुद्ध प्रभावकारी र परिणाममुखी संघर्ष सफल पार्न जरुरी छ । लाग्छ, यसरी मात्र एकातिर जनयुद्ध र जनआन्दोलनका असली नीति, निर्णय, निर्देशन, नारा र नायकहरुलाई स्थापित र सम्मानित गर्न सकिन्छ भने अर्कातिर यसका वास्तविक खलनायकहरुलाई विस्थापित र पराजित गर्न सकिन्छ अनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अग्रगामी र प्रगतिशील उपलब्धीहरुलाई संरक्षण र सम्बर्द्धन गर्दै थप उपलब्धिका लागि लड्न र बढ्न सकिन्छ, जो आजको हाम्रो प्रमुख दायित्व र अनिवार्य आवश्यकता पनि हो ।
तसर्थ, अहिल्यै सामाजिक संजालमा सबैतिर रहेका सच्चा, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, न्याय-समानता र स्वतन्त्रताप्रेमी, इमान्दार, क्रान्तिकारी र देसभक्तहरुको एउटा समूह बनाई छलफलगरौं, कार्यक्रम बनाऔं र जनतालाई जगाऔं र जुटाऔं, सबैतिरका सच्चा नेताहरुलाई सर्वप्रथम सही सुझाव दिऔं, साहस भरौं र साथ दिऔं, नभए चेतावनी दिऔं, खबर्दारी र हस्तक्षेप गरौं । जे होस् , जसरी होस् वर्तमानको यो ज्यादैनै कृटिकल अवस्थाबाट देस र जनतालाई पार लगाउन संयुक्त, सशक्त र निर्णायक प्रयत्न गरौं । अस्तु
वि.सं.२०७७ वैशाख ५ शुक्रवार १४:४० मा प्रकाशित






























