८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी(नेकपा) को सोमबार साँझ आकस्मिक बसेको सचिवालय बैठकले आश्चर्यजनक निर्णय गरेको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री मन्त्रिपरिषद्को बैठक बोलाइ राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गराए लगतै विभिन्न आशंकाका बीच बसेको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउने निर्णय गरेको भनिएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त अध्यक्षतामा बसेको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको उल्लेख छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराए लगत्तै सहभागीले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राखेको जनाइएको छ ।
बैठकले सोमबार मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल गरेको र छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएकोसमेत विज्ञप्तीमा जनाइएको छ ।
स्मरणरहोस् आज राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेशहरु जारी भएको छ । प्रधानमन्त्रीले पठाएको एक घण्टामै अध्यादेश राष्ट्रपतिबाट जारी भएको जनाइएको छ ।
आज जारी भएका दुई अध्यादेशमा संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, ०७७ रहेका छन् ।
फाइल तस्विर
वि.सं.२०७७ वैशाख ८ सोमवार २१:४५ मा प्रकाशित






























